• ७ जेठ २०८१, सोमबार

मत्स्येन्द्रनाथको रथ निर्माण सुरु

blog

ललितपुर, वैशाख २१ गते । करुणामय बुगंद्यः (रातो मत्स्येन्द्रनाथ) को रथ निर्माण सुरु भएको छ । ३२ हात लामो रथ निर्माणका लागि पहिलो चरणमा पुल्चोकस्थित पीठमा रथको घचाः (पाङ्ग्रा) पुर्‍याइएको छ । वाराहीले रथमा पाङ्ग्रा र लःसिं राख्ने छन् ।  काठलाई डोरी र बेतले कस्ने काम गर्ने छन् ।

हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले समेत करुणामयका रूपमा आराधना गर्ने रातो मत्स्येन्द्रनाथ उपत्यकामा सबैभन्दा लामो समय चल्ने र प्राचीन जात्राका रूपमा परिचित एक सांस्कृतिक जात्राका रूपमा लिइन्छ । जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म चल्ने गर्छ । यो वर्ष वैशाख २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गरिने भएको छ । 

स्थानीय जात्रा समिति र सहयोगी समूहले रथ निर्माण गर्छन् । रातो मत्स्येन्द्रनाथको जात्रामा रथ निर्माण मूर्ति सिँगार्ने काम, पूजा व्यवस्थापनलगायतका कार्य नेवार समुदायको सीमित जातिको काममा पर्छ । यो जात्रा धार्मिकका साथै सांस्कृतिक महत्वका रूपमा लिइन्छ ।