• ४ जेठ २०८१, शुक्रबार

सातामै एक सय पचास क्विन्टल तरबुजा बिक्री

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख २१ गते । भनिन्छ, गरे के हुँदैन । मन लगाएर गर्ने हो भने नेपालमै सुन फलाउन सम्भव छ, विदेश जानै पर्दैन । नेपालीहरू पैसा कमाउन कतार, साउदी र भारततर्फ ओइरिरहेका बेला एक भारतीय नागरिकले बाँकेको राप्ती नदीको बगरमा एक हजार क्विन्टल तरबुजा फलाएर बिक्रीका लागि तयार पारेका छन् । 

राप्ती नदीको सिधनिघाटस्थित नदीको बगरमा भारत उत्तर प्रदेशको बागपतका एक व्यवसायीले एक हजार क्विन्टल तरबुजा फलाएर बिक्रीका लागि तयारी अवस्थामा राखेका हुन् ।  

भारत उत्तर प्रदेशका साहिद अली खानले राप्ती नदीको सिधनिघाटस्थित बगरमा करिब पाँच सय बिघाभन्दा बढी क्षेत्रफलमा एक हजार क्विन्टल जति तरबुजा फलाइसकेको र थप फल्ने क्रममा रहेका छन् । 

उहाँले गर्मीका कारण तरबुजाको माग अत्यधिक रहेको जनाउँदै एक सातामै १५० क्विन्टल तरबुजा बिक्री भइसकेको बताउनुभयो । काठमाडौँ, दाङ, सुर्खेत, बर्दिया, महेन्द्रनगर, धनगढी र बुटवल तथा नारायणगढबाट समेत तरबुजाको माग आएको खानले बताउनुभयो । 

अहिले तयार भएको तरबुजा सङ्कलन, सिँचाइ, रेखदेख र सुरक्षाका लागि खानले ९५ जना कर्मचारी त्यहाँ राख्नुभएको छ । उनीहरूले दिनरात सो फलको हेरचाह गरिरहेका छन् । 

बालुवा नै बालुवा भरिएको बगरमा लटरम्म तरबुजा, खरबुजा र काँक्रो फलेको देख्दा सो बाटोबाट आवागमन गर्ने प्रायः सबै  छक्क पर्ने गरेका छन् । खानले सो बगरमा पाँच लाखभन्दा बढी तरबुजाका बिरुवा लगाएको जनाउँदै अझै करिब पाँच हजार क्विन्टल तरबुजा फल्ने अनुमान गर्नुभएको छ ।