• १३ मंसिर २०८१, बिहिबार

रुरुक्षेत्रले गर्‍यो फायर हाइड्रन्ट जडान

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १९ गते। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विभिन्न स्थानमा फायर हाइड्रन्ट जडान गरेको छ।यस गाउँपालिकाका विभिन्न स्थानमा सात वटा फायर हाइड्रन्ट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार गाउँपालिकाको वडा नम्बर–१, रिडी बजारमा तीन वटा, वडा नम्बर–४, बलेटक्सार बजारमा दुई वटा र रानीबास बजारमा दुई वटा गरी सात वटा फायर हाइड्रन्ट जडान गरिएको छ।

दमकल जान नसक्ने र दमकल आउन ढिला हुने हुँदा फायर हाइड्रन्ट प्रभावकारी हुने उहाँले बताउनुभयो।दमकलको जस्तै कार्य गर्न प्रत्येक पालिकाले १/२ वटा ट्याक्टर र मटरपम्प (दमकलको जस्तै) खरिद गर्दा तत्काल आगलागी नियन्त्रण गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ।

फायर हाइड्रन्टले तत्काल आगलागीबाट जोगाउन दमकलले जस्तै काम गर्ने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो।गाउँपालिकाले आगलागी नियन्त्रणका लागि फायर सुट, फायर बल, आगो निभाउने डण्डा सहितको चपटी, फायर एक्टिग्यूसर, पन्जाहरू लगायतका सामग्रीहरू खरिद गरी आपत्कालीन कार्य सञ्चालन केन्द्रमा राखेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

अन्य विभिन्न स्थान, गाउँ बस्ती तथा बस्ती नजिकको जङ्गल क्षेत्रमा खानेपानीको मुख्य पाइपलाइन रहेको स्थानको पहिचान गरी क्रमशः फायर हाइड्रन्ट जडान गरिनेछ।आगलागीबाट रुरु क्षेत्र गाउँपालिकामा हालसम्म सात घर र धेरै मात्रामा खानेपानीका पाइपमा क्षति भएको छ।