• ८ जेठ २०८१, मङ्गलबार

सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास

blog

अगैयास्थित राप्ती नदीमा कृत्रिम अभ्यास गर्दै सशस्त्र प्रहरीको उद्धार टोली । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १९ गते ।
 वर्षाको समयमा नदी नाला तथा विभिन्न खोलाहरूमा आउने बाढीले बर्सेनि ठुलो जनधनको क्षति पुर्‍याउँदै आएकाले सो क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरीले बाँकेको अगैयास्थित राप्ती नदीमा जलउत्पन्न प्रकोप कृत्रिम उद्धार अभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको आयोजनामा बाँकेको अगैयास्थित राप्ती नदीमा बाहिनी स्तरीय जल उत्पन्न  प्रकोप कृत्रिम अभ्यास गरिएको हो ।

सशस्त्र प्रहरीको उद्धार टोलीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक आशिष् रावतको नेतृत्वमा रहेको ७१ जनाको उद्धार टोलीले राप्ती नदीको बाढीमा बग्दै आएका केही व्यक्तिहरूसँगै सामान तथा विभिन्न चौपायाको समेत उद्धार गरेर सो कृत्रिम अभ्यास सम्पन्न गरेको थियो । उद्धार अभ्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थीले केही समयपछि वर्षा र बाढीको मौसम आउने भएकाले सोबाट बढीभन्दा बढीलाई जोगाउन तथा उद्धार गर्न पूर्व तयारी आवश्यक रहेकाले यो अभ्यास निकै महत्त्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले विपदबाट उद्धार र राहतका लागि आगामी बजेट बढाउने जनाउँदै उद्धार टोली पनि ठाउँ ठाउँमा राखिने बताउनुभयो । 

सशस्त्र प्रहरी बल ५ नम्बर विन्ध्यवासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले मनसुन र विपद्को समयमा उद्धार र राहत कार्यका लागि सशस्त्र प्रहरी बल पूर्णरुपमा तयार रहेको बताउनुभयो ।

उहाँले सोही तयारीलाई अभ्यास गरेर देखाउने उद्देश्यले यो कृत्रिम अभ्यास गरिएको र यसमा भएका कमी कमजोरी सच्चाएर अगाडि बढ्ने बताउनुभयो । वर्षातको समयमा बाँके, बर्दिया, दागं, कपिलवस्तु बाढी र डुबानको उच्च जोखिममा रहेको जनाउँदै नायब महानिरीक्षक खत्रीले उद्धारका लागि सशस्त्र प्रहरी पूर्णरुपमा तयारी हालतमा रहेको बताउनुभयो ।

सो अवसरमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल लगायतले बाढी र डुबानबाट उद्धार र राहतको कार्यमा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै जनशक्ति थप गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेश सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष कल्पना केसी, सशस्त्र प्रहरी बल नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालयका निर्देशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेल, सशस्त्र प्रहरी बल ३० न. गण बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ३१ न. गणका गणपति चित्रांग दाहाल र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक ओम खड्का लगायत नेपाली सेनाका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

वर्षाको समयमा हरेक वर्ष राप्ती नदीमा आउने बाढीबाट बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा ठुलो क्षति हुँदै आएको छ ।