• ८ जेठ २०८१, मङ्गलबार

ऐतिहासिक ‘नुनमार्ग’ निर्माणको पहल

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख १८ गते  । बुटवलको पुरानो बजार ‘बटौलीदेखि पाल्पाको भैरवस्थान’ जोड्ने पुरानो नुन बोक्ने ऐतिहासिक सिल्क सडक छिटो निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । बुटवलदेखि पाल्पाको दोभान, मस्याम हुँदै भैरवस्थान पुग्ने ऐतिहासिक सिल्क सडकले पहाड र हिमाललाई तराईसँग जोड्ने गरेको छ । त्यति मात्र नभई उत्तरी तिब्बत र दक्षिणी भारतसम्म जोड्ने प्राचीन रेसममार्गको एक भागसमेत भएकाले सडक निर्माणको काम छिटो गर्नसमेत सुझाव दिइएको छ । 

यो सडक भएर पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, अर्घाखाँचीलगायत जिल्लाका बासिन्दा बुटवलको पुरानो बजार बटौलीमा नुन र मटितेल किन्न आउने भएकाले यो सडकलाई ढाक्रे सडकसमेत भन्ने गरिएको छ ।   बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलमा आयोजना गरेको ‘बुटवल भैरवस्थान द्रुत व्यापारिक मार्ग : सम्भावना र अवसर’ कार्यक्रममा बोल्ने वक्ताहरूले यो सडक ऐतिहासिक मात्र नभई नेपाललाई उत्तरको चीन र दक्षिणको भारतसँग जोड्नेसमेत भएकाले तत्काल यसको निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । 

कार्यक्रममा उक्त सडकको अवधारणा प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नवराज श्रेष्ठले २०२७ सालपूर्व सिद्धार्थ राजमार्ग बन्नुअघि यो सडकले पाल्पाको दोभान, मस्याम र भैरवस्थान हुँदै बुटवललाई गण्डकी, धवलागिरि र कर्णालीसँग जोडी यो क्षेत्रलाई चलायमान बनाएकाले ऐतिहासिक ‘नुनमार्ग’ लाई आधार बनाएर सडक निर्माण गर्नुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले यो सडक निर्माणका लागि आफूले पनि बजेट विनियोजन गर्न पहल गर्ने बताउँदै पितापुर्खाले प्रयोग गरेको सडकलाई जीवित बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेलले पुरानो नुन बोक्ने मार्गलाई प्राचीन रेसममार्गका रूपमा विकास र परिचित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो ‘नुनमार्ग’ लाई व्यापारिक सडकका रूपमा भन्दा पनि पर्यटकीय र सांस्कृतिक सडकका रूपमा बनाउन उपयुक्त हुने बताउनुभयो । 

सङ्घीय भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन पाण्डेले सडकको प्राविधिक पक्षका बारेमा अवधारणा प्रस्तुत गर्नुभयो । उहाँले हाम्रा बाबुबाजेले नुन बोक्ने सडकका रूपमा प्रयोग गरेको बुटवल, दोभान, भैरवस्थान सडकलाई पर्यावरणमैत्री बनाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले ऐतिहासिक ‘नुनमार्ग’ सँग यो क्षेत्रको विकास मात्र नभई ऐतिहासिक सामाजिक सम्बन्धसमेत जोडिएको चर्चा गर्दै सडकलाई ऐतिहासिक मार्गका रूपमा विकास गर्न प्रदेश सरकारले तत्कालै अध्ययन गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल–दोभान–भैरवस्थान जोड्ने नयाँ मार्गले पुरानो ‘नुनमार्ग’ लाई जीवित बनाउने र बुटवलमा आर्थिक, सामाजिक र पर्यटकीय गतिविधि बढ्ने विश्वास राख्नुभयो । 

यो सडक निर्माण भए बुटवलदेखि भैरवस्थान पुग्ने बाटोको दुरी ३९ प्रतिशत कम हुन गई आधा घण्टामा बुटवलदेखि भैरवस्थान पुग्न सकिने बताइएको छ । अवधारणा प्रस्तोता नवराज श्रेष्ठले बुटवलदेखि पाल्पा हुँदै गुल्मीको रिडी तथा कोरोला नाका जोड्ने कालीगण्डकी कोरिडोरको दुरी घट्ने बताउनुभयो । 

मध्यपहाडी लोकमार्गसँग सहज र छिटो पहुँच बन्ने भएकाले डोल्पा, जाजरकोट, रुकुमसम्मका बासिन्दाको बुटवलसँग सहज पहुँच हुने उहाँको भनाइ छ । उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पुर्खाले हिँडेको बाटोमा गर्व गर्नुपर्ने र प्रस्तावित सडकलाई इतिहास स्मरण हुने गरी ढुवानी सडककै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।