• ८ जेठ २०८१, मङ्गलबार

आगो लगाउने १८ जना पक्राउ

blog

रेखीराम राना
तानसेन, वैशाख १८ गते ।
आगो लगाउने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन, बगनासकाली र रिव्दीकोटका विभिन्न स्थानमा आगो लगाउने १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घाँस उमार्ने नाममा बारी तथा खेतका कान्लामा आगो लगाई छाड्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । आफ्नो बारी तथा खेतमा आगो लगाएर छाड्दा वनमा डढेलो लागेको प्रहरीको भनाइ छ । आगोलागीमा संलग्न भएका बालबालिकादेखि ९६ वर्षसम्मका वृद्धा रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकालाई एक दिन प्रहरी हिरासतमा राखेर सम्झाईबुझाई गरेपछि आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो । डढेलो लगाउने कार्यमा संलग्न अधिकांशले खरबारीमा आगो लगार वेवारिसे छाडेको भेटिएको प्रहरीले जनाएको छ । अधिकांश स्थानका मानिसले घाँस उमार्ने नाममा र वज्यजन्तु भगाउने नाममा आगो लगाउने प्रचलनलाई निरुत्साहित गर्न संलग्न मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले बताउनुभयो ।

वैशाख महिनापछि जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोले प्रहरीलाई समेत तनाव थपेको उहाँले उल्लेख गर्नुभयो । एक महिनायता जिल्लाभर डढेलो बढेको छ । गत वर्ष यही समयमा ५० बढी स्थानमा डढेलो लागेकोमा यो वर्ष बढेर सय बढी स्थानमा डढेलो लागिसकेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

तीन गोठ जलेर नष्ट
पाल्पाको रैनादेवी छहरामा आगलागीबाट तीन वटा गोठ जलेर नष्ट भएको छ । आइतबार दिउँसोदेखि रैनादेवी छहरा–४, को सल्लेधारा, तिनधारे, सुकदह क्षेत्रमा लागेको आगोले तीन वटा गोठ जलेर नष्ट भएको हो भने घर जोगिएको छ ।

स्थानीय बासिन्दा टिकाराम पोखरेल, डिल्लीराज पराजुली र जुनकला पोखरेलको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले यस भेगका अन्य घर पनि आगलागीको जोखिममा रहेको बताएका छन् । आगलागीबाट लाखौ रुपियाँको क्षति भएको छ ।