• ८ जेठ २०८१, मङ्गलबार

तानसेनमा म्याद नाघेका बस्तु बिक्री

blog

तानसेनमा बजार अनुगमन गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, वैशाख १८ गते ।
तानसेनमा म्याद गुज्रिएका अखाद्य सामग्री बिक्री भएको पाइएको छ । जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा म्याद नाघेका अखाद्य बस्तु बिक्री भएको पाइएको हो ।

तानसेनको भगवतीटोल, विशालबजार, कैलाशनगर, बसन्तपुरलगायतका स्थानमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु बिक्री भएको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । बिक्री गर्न नमिल्ने बिस्कुट, चाउचाउ, चकलेट, मैदा, सुजी, मिटमसला, चिउरा, कुरकुरे, चियापत्ति, तेल तथा पेय पदार्थसमेत बिक्री गरेको पाइएको प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो ।

म्याद नाघेका अखाद्य सामग्री बिक्री गरेको पाएपछि जफत गरेर नष्ट गरिएको श्रेष्ठले जानकारी दिनुभयो । तानसेनका किराना तथा गल्ला पसलमा गरिएको अनुगमनबाट कमजोरी भेटिएपछि सामान जफत गर्ने र अब आइन्दा त्यस्तो कार्य नगर्न चेतावनी दिइएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कर्मचारी मनोज घिमिरेले बताउनुभयो ।

अनुगमन टोलीले केही पसल दर्ता बिनानै सञ्चालन भएको पााइएकाले त्यसलाई दर्ता प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ । पसलेले पसल अगााडि उपभोक्ताले देखिने स्थान मुल्य सूचि टाँस नगरेको पाइएको त्यसलाई समेत सुधार्न आग्रह गरिएको घिमिरेले बताउनुभयो ।