• १२ असार २०८१, बुधबार

यू–१६ क्रिकेटमा १६ टोली

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १७ गते । काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान दिने नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्वअध्यक्ष शाहको नाममा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर घलेले जानकारी दिनुभयो ।

ग्रासरुटदेखि नै क्रिकेट खेलको विकास गर्न र विस्तारै राष्ट्रिय टोलीको लागि खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वपूर्ण हुने घलेले बताउनुभयो । प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभाग टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

जस अनुसार समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, सँस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइस्कुल तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडेमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल छ । 

यस्तै समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्ट्स एकेडेमी स्कुल तथा समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्सस इन्टरनेसल एकेडेमी र एलआरआइ स्कुल छ । समूहको शीर्षटोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र  उदीयमान खेलाडीलाई जनही पाँच हजार र प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपियाँ प्रदान गरिनेछ ।  

प्रतियोगिताका खेलहरु मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन स्वर्गीय जयकुमार नाथ शाहको परिवारले गर्ने आयोजकले जनाएको छ ।