• २० असोज २०८१, आइतबार

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

blog

सडक कालोपत्र गर्न सम्झौता । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १७ गते । विश्व बैङ्कको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्ग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका र निर्माण कम्पनीबिच सोमबार नगरपालिकाको कार्यालयमा सम्झौता गरिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदी र निर्माण कम्पनी बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँका प्रतिनिधि जेभिन विक्रम शाहीबिच सम्झौता गरिएको हो ।

यस मार्गमा बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती १० दशमलव ५५ किलोमिटर कालोपत्र गरिने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कृषि उपजलाई बजार सम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको  यात्रा सहज बनाउन कालोपत्र गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।   

विश्व बैङ्कको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागिएको नगरपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ५२ करोड ७८ हजार ३० हजार चार सय ४७ मा विद्युतीय बोलपत्र भएकोमा सो कम्पनीले  मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु ४० करोड ८० लाखमा उक्त निर्माण गर्न कम्पनीले ठेक्का लिएको छ ।

वि.सं. २०८२ असारसम्ममा आयोजना सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरपालिको जनाएको छ । नगरपालिकाका अनुसार बैङ्कले नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।

छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैङ्कसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रियाअघि बढाएको थियो । अब चाँडै नै पक्की नाहाला सहितको कालोपत्रको काम गरिने सम्झौता कार्यक्रममा जानकारी दिइएको थियो ।