• २ जेठ २०८१, बुधबार

बेलबास-बेथरी सडक निर्माण अलपत्र

blog

अलपत्र अवस्थाको बेलबास–बेथरी सडक । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १७ गते । रुपन्देहीमा नमुना सडकका रूपमा निर्माण थालिएको बेलबास–बेथरीसडक बिचैमा अलपत्र परेपछि स्थानीयले दबाब दिन भन्दै सङ्घर्ष समिति गठन गरेका छन् । सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा टिप्पर चल्न नदिने स्थानीयले निर्णय समेत गरेका छन् ।

स्थानीय राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधिहरूको भेलाले विजय ढकालको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको हो । सङ्घर्ष समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङ लगायत छन् । 

सङ्घर्ष समितिले सडक किनारका नाली र कुलाको काम पूरा गर्न, सडक बिचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ । बेलबास–बेथरी सडकको बेताहानीदेखि दक्षिण तर्फको खण्ड तीन वर्षअघि नै निर्माण सम्पन्न भएपनि बेताहानीदेखि नहरपुरसम्मको खण्डको काम पुरा नहुँदा दुर्घटनाको जोखिम बढेको रा धुलो र हिलोले सवारीसाधन चलाउन कठिन भएपछि सङ्घर्ष समिति बनाइएको संयोजक विजय ढकालले बताउनुभयो । यो सडक खण्डमा अर्घाखाँची सिमेन्ट उद्योगमा चुनढुङ्गा पुराउने टिप्पर बढी मात्रामा चल्छन् ।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम सुरु भएपनि अझै सम्पन्न हुन सकेको छैन । चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

वि.स. २०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल–बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडक खण्डमा साढे ८ किलोमिटरमध्ये ३ किलोमिटर लामो समयदेखि कालोपत्रे हुन नसकेको सङ्घर्ष समितिका सल्लाहकार हरिहर श्रेष्ठले बताउनुभयो । "हामीले धेरै दबाब दियौँ तर बनेन, अलपत्र पारिएपछि हामी सङ्घर्षमा उत्रिएका हौँ," उहाँले भन्नुभयो ।