• १५ असार २०८२, आइतबार

एसइई नतिजामा सुधार

blog

शिक्षा विकास तथा समन्वय एकाइ बाजुरा । इनसेटमा उत्कृष्ट नतिजा ल्याउने छात्रा एलिसा कुँवर र भावना साउद । तस्बिर : शेरबहादुर सार्की

बैतडी समाचारदाता

बैतडी, असार १५ गते । बैतडीमा गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा करिब दोब्बरले सुधार भएको छ । विसं २०८० परीक्षामा ३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ को एसइईमा ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

शैक्षिक गुणस्तर परीक्षण, स्थानीय सरकार, विद्यालय र अभिभावकको निरन्तर प्रयासले नतिजा सुधार भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । नतिजा सुधार गर्न अधिकांश विद्यालयले थप कक्षा सञ्चालनसमेत गरेको उहाँले बताउनुभयो । एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर पनि परीक्षण भएको थियो । 

बैतडीमा २०८१ चैत ७ देखि सञ्चालन भएको एसइईमा चार हजार ३०७ जना सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो । उहाँले परीक्षामा सहभागी भएका चार हजार ३०७ मध्ये दुई हजार १२ जना अनुत्तीर्ण भएकाले नतिजा सुधार गर्न अझै प्रयास गर्नुपर्ने बताउनुभयो ।

बाजुरा समाचारदाताका अनुसार बाजुरामा २०८१ सालको एसइईको नतिजामा निकै सुधार आएको छ । २०८० सालको एसइईको नतिजाभन्दा २०८१ सालको एसइईमा निकै सुधार आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।

२०८१ सालको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या शून्य, ३.६ देखि ४.० जिपिएभन्दा कम ल्याउने ३८ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने २६२ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ५३२ जना, २.४ देखि २.८ जिपिए ल्याउने ३५१ जना, २.० देखि २.४ जिपिए ल्याउने १६ जना, १.६ देखि २.० जिपिए ल्याउनेको सङ्ख्या भने शून्य रहेको छ । २०८१ सालको एसइईमा दुई हजार २१६ जना सहभागी भएकामध्ये एक हजार १९९ जना पास भएका छन् । २०८० सालमा दुई हजार ८३४ जना एसइईमा सहभागी भएका थिए । तीमध्ये एक हजार पाँच जना मात्र पास भएका थिए । २०८० सालमा ग्रेड विद्यार्थी प्रतिशत झन्डै ४५ थियो भने २०८१ मा ग्रेड विद्यार्थी प्रतिशत ५१.७२ रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो ।

२०८० सालको एसइईभन्दा २०८१ सालको एसइईमा सबै विद्यालयको नतिजा निकै सन्तोषजनक रहेको छ । जसले गर्दा पछिल्लो समय बाजुरामा एसइईमा निकै सुधार आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका विष्टले बताउनुभयो ।

४०.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

साँफेबगर समाचारदाताका अनुसार यस वर्षको एसइईमा अछामबाट ४०.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल दुई हजार २४ जना विद्यार्थी उत्तीर्ण हुँदा दुई हजार ९४३ जना अनुत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा दिएका चार हजार १३२ जना परीक्षार्थीमध्ये एक हजार ६५८, प्राविधिक धारतर्फ १८१ परीक्षार्थीमध्ये १०४ जना र ग्रेड वृद्धितर्फ २६२ जना गरी दुई हजार २४ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ अछामका प्राविधिक सहायक सुरेन्द्र बजगाईंले जानकारी दिनुभयो । दुई हजार ९९४ जना परीक्षार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउने भएका छन् । नियमिततर्फ ३० जना विद्यार्थीले ३.६ देखि ३.९० जिपिए ल्याएका छन् । १८६ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए ल्याएको प्राविधिक सहायक बजगार्इंले जानकारी दिनुभयो । यस्तै ६९९ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याएका छन् । ८२ जना विद्यार्थीले दुई जिपिएदेखि २.४ जिपिए ल्याएर उत्तीर्ण भएको प्राविधिक सहायक बजगाईंले जानकारी दिनुभयो ।

दुई जना छात्रा उत्कृष्ट

अछाममा यस वर्ष एसइई परीक्षामा दुई जना छात्रा उत्कृष्ट भएका छन् । अछामको साँफेबगर नगरपालिका–३, सिद्धेश्वरस्थित किन्डरगार्डेन एकेडेमीका छात्रा एलिसा कुँवर र मेल्लेख गाउँपालिका–८, हात्तीकोटस्थित कालिका माध्यमिक विद्यालयका छात्रा भावना साउदले अछाम जिल्लामै उत्कृष्ट जिपिए ल्याउनुभएको हो ।

एलिसा कुँवर र भावना साउदले समान ३.९० जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय एकाइ अछामका प्राविधिक सहायक सुरेन्द्र बजगाईंले जानकारी दिनुभयो । अछामबाट २०८१ सालको एसइईमा सहभागीमध्ये कुँवर र साउद सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएको शिक्षा विकास तथा समन्वय एकाइका अछामका प्रमुख अम्बादत्त जोशीले जानकारी दिनुभयो । 

यस्तै छोरी जिल्लामै उत्कृष्ट हुँदा छोरीमाथि गरेको लगानी सफल भएको भावना साउदका बुवा महाजन सिंह साउदको भनाइ रहेको छ । मेहनत गर्ने हो भने सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुने कुरा यसले प्रमाणित गरेको उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक नरेश साउदले नतिजा आशातीत रहेको र विद्यार्थी तथा शिक्षकको मेहनतको परिणाम भएको बताउनुभयो । यसले आफूहरूलाई निकै खुसी बनाएको बताउनुभयो ।