• २ जेठ २०८१, बुधबार

काठमाडौं-तराई द्रुतमार्गको ३३ प्रतिशत प्रगति

blog

काठमाडौं–तराई–मधेस द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैयास्थित निर्माणाधीन धेद्रे सुरुङ मार्ग । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख १७ गते । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३३ दशमलव २० प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले जानकारी दिनुभयो । 

काठमडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसन सहित वित्तीय प्रगति भने ३३.०२ प्रतिशत छ । उहाँले आयोजनाको समष्टिगत कार्य योजना मुताबिकको ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बरसम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । प्याकेज नं. ८क, ८ख, ९क, ९ख र १० को ठेक्का व्यवस्थापन भई डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहण सम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ । 

हालसम्म निर्माणाधीन तीन वटा सुरूङ् मार्गको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४,८८६ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । जसअनुसार सुरुङ मार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ ३,३५५ मिटरमध्ये हालसम्म २,१३८ मिटर, प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङ मार्गको जम्मा लम्बाइ १,६३० मिटरमध्ये हालसम्म १,३९८ मिटर र प्याकेज नं. ३ अन्तर्गत लेनडाँडा सुरुङको जम्मा लम्बाइ १,४३० मिटरमध्ये हालसम्म १,३५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । 

नेपाली सेनाका अनुसार प्याकेज नं. १० अन्तर्गत २.२२५ मिटर चन्द्राम भीर सुरुङ र प्याकेज नं. ८ ख अन्तर्गत १.३९० मिटर देवीचौर सुरुङ, सिसौटार सुरुङको लागि खरिद सम्झौंता भई डिजाइनको क्रममा रहेको नेपाली सेनाले जनाएको छ । आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये ८५ स्थानका पुलहरु निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको भएको छ । हालसम्म ५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ । हालसम्म निर्माणाधीन पुलहरुको कुल २ हजार ८०२ वटा पाइल मध्ये १ हजार ७६० वटा पाइल खन्ने कार्य सम्पन्न भइसकेको छ । 

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ८० रोपनी जग्गा अधिग्रहण भइरहेको र ३९२ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाका सूचना अधिकारी केसीले जानकारी दिनुभयो । 

हालसम्म ३० हजार ५९१ वटा रूख कटान भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को पुष १२ गतेको निर्णय अनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातीका ४ हजार ३४५ रुखमध्ये हालसम्म २ हजार १८३ रुख कटान गरिएको छ । कटान गरिएका रुखहरुको बदलामा हालसम्म ७ लाख ५ हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको नेपाली सेनाले आफ्नो वेव साइड मार्फत जानकारी दिएको हो । हाल द्रुत मार्गको सब बेस निर्माण, बायो इन्जिनियरिङ, रोड निर्माण तथा पर्खालहरु लगाउने र सेवा दिनका लागि अन्य रोडहरु निर्माण लगायतका कार्यहरु भइरहेको बताइएको छ ।

आयोजनाको रेखाङ्कन अनुकूलन तथा डिजाइन परिमार्जन बमोजिम द्रुतमार्गको २६ दशमलव ३८५ किलोमिटर देखी ३५ दशमलव ३६० किलोमिटर ४९ दशमलव ८१८ किलोमिटर देखी ७० दशमलव ९७७ किलोमिटरसम्म पर्ने प्याकेज नं. १ देखि ५ को स्वीकृत पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसइआइए) अनुसार बारा जिल्लाको राष्ट्रिय वनको ४० दशमलव १९ हेक्टर जग्गा प्रयोग गर्ने र सो वनमा रहेका ४ हजार ३४५ गोटा रुख÷पोल कटान गर्ने स्वीकृति नेपाल सरकार (मन्त्रिपरिषद्) को पुस १२ गतेको निर्णयबाट प्राप्त भएको उल्लेख छ । द्रुतमार्गको ३५ दशमलव ३६० किलोमिटर देखी ४९ दशमलव ८१८ किलोमिटर सम्म पर्ने प्याकेज नं. ६ र ७ अन्तर्गतको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसइआइए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिको क्रममा रहेको जनाइएको छ ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्नेगरी तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ । 

नेपाली सेनाको व्यवस्थापनमा काम सुरु भएको छ वर्षको अवधिमा द्रुतमार्गको एकतिहाइ सकिएको छ । सेनाका अनुसार अहिले आयोजनाको भौतिक प्रगति ३३.२० प्रतिशत छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।