• १२ साउन २०८१, शनिबार

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

blog

काठमाडौँ, जेठ २ गते ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा सबै राष्ट्रसेवक कर्मचारीको सेवासुविधा समयानुकूल र आकर्षक बनाउने भएको छ । कर्मचारीको सेवासुविधा पूर्वानुमानयोग्य र समन्यायिक बनाई राष्ट्रसेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त बनाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीका सेवासुविधालाई समयानुकूल र आकर्षक बनाउने घोषणा गर्नुभएको हो । 

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले नीति कार्यक्रममार्फत कर्मचारीको सेवासुविधा समयानुकूल र पूर्वानुमानयोग्य बनाउने भनी उल्लेख गर्नु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले सरकारले सधैँ नीति कार्यक्रममा आकर्षक कुरा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति रहेकाले नीति कार्यक्रममा उल्लेख गरेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभयो । 

सरकारले समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुनर्संरचना र एकीकरण गरी तालिमको प्रभावकारिता वृद्धि गर्ने, कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्ठ र मापनयोग्य बनाउने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन सङ्गठन संरचनामा रहेका दोहोरोपन हटाउने र सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाई सेवाको लागत, समय र गुणस्तरमा सुधार गर्ने, सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गर्ने र सङ्घीय निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने निजामती प्रशासनलाई चुस्त परिणामुखी र व्यावसायिक बनाउने, प्रदेश निजामती सेवा र स्थानीय सेवालाई व्यवस्थित बनाइने, तीन तहबिचको प्रशासनिक कार्यात्मक अन्तरसम्बन्ध सुदृढ तुल्याई सेवा प्रवाहलाई थप सहज, सुलभ र सरल बनाउने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।