• १२ साउन २०८१, शनिबार

बैङ्कमा निक्षेप बढ्यो कर्जा प्रवाह भने सुस्त

blog

काठमाडौँ, जेठ २ गते । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो ।

कुल आन्तरिक कर्जाको वृद्धिदरमा सङ्कुचन

समीक्षा अवधिमा कुल आन्तरिक कर्जाको वृद्धिदरमा सङ्कुचन आएको छ । चालु आव २०८०/८१ को नौ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो दाबी २.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाह पनि सुस्त

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब २२ अर्ब २१ करोड अर्थात् ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ६१ अर्ब ९८ करोड अर्थात् ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैङ्कहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ । 

२०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाका लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

२०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो । 

आव २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.८ प्रतिशतले, नगद प्रवाह कर्जा २७.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनः वर्गीकरणको कारणसमेत), ट्रस्ट रिसिट (आयात) कर्जा ०.२ प्रतिशतले र हायर पर्चेज कर्जा १६.९ प्रतिशतले घटेको छ ।