काठमाडौँ, वैशाख ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौती दुवै भएको बताउनुभयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने बताउनुभयो । महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उहाँको भनाइ छ ।
‘‘महिला उद्यमशीलताको विषय निकै सम्भावना र चुनौती बोकेको विषय हो । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरू विदेश पलायन भइरहेको अवस्था सङ्ख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरू विदेश पलायन भएको गाउँहरू रित्तो भएको अवस्था छ । रित्तो भएको सन्दर्भमा पनि गाउँमा महिलाहरू हुनुहुन्छ । ७० प्रतिशत महिला हुनुहुन्छ । महिलाहरू देशभित्र हुनुहुन्छ । यो महिला उद्यमशीलता नै महत्त्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ पर्यटन क्षेत्रमा महत्त्वपूर्ण रणनीति हुनसक्छ । यो विषयलाई छलफलको विषय राख्नुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘महिला उद्यमशीलता त्यो पनि पर्यटन क्षेत्रमा कसरी सम्भावना छ र चुनौतीका कुराहरू हामीले प्रत्येक छलफलमा एउटा खण्डा यो राख्यो भने समस्या उजागर हुन्छ र समाधान पनि निस्किन्छ । हामीलाई रोडम्याप पनि क्लियर हुन्छ । नीतिमा कानुनमा बजेट र योजनामा के गर्ने भन्ने कुरामा म गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्छु ।’’
मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबिच विश्वासको सङ्कट उत्पन्न भएको जानकारी दिनुभयो । उहाँले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘पर्यटनमा महिला भन्न विषय चाहीँ राम्रो गरी प्रस्तुत भयो । तर यसमा डिजिटल युग र यसको उपयोग गर्ने सन्दर्भमा कम छलफल भयो जस्तो लाग्यो । किन की यो डिजिटल युगल हामीलाई धेरै सहज बनाएको छ । होटलहरू बुक अनलाइनबाट हुने गर्छन् । होटलको सुविधा पनि हेर्छ, खर्च पनि हेर्छ । एकै बिन्दुबाट सेवा लिने र दिने इगभर्नेन्सको पनि हामीले कुरा गरी रहेका छौँ । यो सन्दर्भमा पनि हामीले डिजिटल युगलाई अधिकतम उपयोग गर्नुपर्छ ।,’’ पर्यटनमन्त्री पाण्डे, ‘‘मेरो यो बिचको अनुभव चाहीँ निजामति प्रशासन र निजी क्षेत्रमा राम्रो विश्वासको वातावराण भयो भने अगाडि बढ्न सकिन्छ । अहिले त्यो विश्वासको वातावरण छैन । सरकार भनेको जनप्रतिनिधि प्रशासनसँग फसाइ दिन्छ कि भनेर डराउने र निजी क्षेत्र पनि अल्झिने भएपछि विश्वास भत्किएको छ । यो निर्माणमा तत्परताका साथ लाग्नुपर्छ ।’’
मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रियामा सरकार रहेको बताउनुभयो ।
नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक
नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटनमा महिला’ विषयक अन्तर्क्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याइएको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाहरुको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताएका छन् । उहाँले भन्नुभयो, ‘‘नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला सहभागिता रहेको छ । यद्यपि उनीहरुलाई विभिन्न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने देखिन्छ ।’’
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सभागिता संख्यात्मक हेर्दा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सीमित देखिन्छन् भन्नुभयो । सचिव बस्नेतले भन्नुभयो,‘‘५४ प्रतिशत महिला पर्यटन क्षेत्रमा भए पनि उनीहरू अझै न्यून पारिश्रमिकमा सीमित छन्। डिजिटल सीप, वित्तीय साक्षरता र ब्राण्डिङका माध्यमबाट उनीहरूलाई नेतृत्वतर्फ लैजानु जरुरी छ।”
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाहरुको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने औंल्याउँदै उनीहरुलाई सशक्तिकरण गर्दै नेतृत्वमा ल्याउनु आवश्यक छ भन्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव लीलाधर अधिकारीले नेपालको पर्यटन प्रतिस्पर्धी क्षेत्र भएकोले डिजिटल साक्षरताको माध्यमबाट महिलाको सहभागिता र नेतृत्व क्षमतामा वृद्धि गर्नुपर्ने मा जोड दिनुभयो ।
नाटाको जनसम्पर्क समिति प्रमुख युविका भण्डारी, महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमला, पूर्व एफएनसीसीआई अध्यक्ष बन्दना राणा, साहसिक पर्यटन अगुवा महिला तथा बञ्जी नेपालकी संस्थापक मीना बराल, डा. प्रीति बिष्ट, जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले आ–आफ्नो धारणा राख्नुभयो ।