• २१ असार २०८२, शनिबार

जलेको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुल्यो

blog

केदार तिमल्सिना
बनेपा, जेठ १ गते । 
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ मा जलेको अवस्थामा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पाँचखाल नगरपालिका– ४ मा मृत फेला परेका व्यक्ति दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ५ टिकाथली बस्ने ५४ वर्षीय विष्णुप्रसाद सुबेदी रहेको जनाएको छ ।

सुबेदीको शव वैशाख २८ गते जिरोकिलो नजिकैको बिराजे खोल्सामा ज्याबिन जालीको तारले मुख र छातीमा बाँधेर जलेको अवस्थामा फेला परेको थियो । सुवेदी वैशाख २३ गते बिहान ललितपुर टिकाथलीबाट निस्केपछि बेपता हुनुभएको भन्दै उहाँको परिवारले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा निवेदन दिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले मृतकको छोरा सुमन सुबेदीले मृतकको दाँतबाट आफ्नो बुबाको शव रहेको पुष्टि गरेको बताउनुभयो । प्रहरीले मृतकको मुखको माथिल्लो भागमा ३ वटा र तल्लो भागको दायाँ पट्टि ४ वटा र बायाँ पट्टि ५ वटा रहेको दाँत अस्पतालको रिपोर्टबाट नक्कली दाँत पाइएपछि मृतकको छोरा सुमनले उक्त दाँतको आधारमा मृतक शव बुवाको हो भनी सनाखत गरी बुझी लिएर पोस्टमार्टमपछि शव बुझेको प्रहरीले जनाएको छ ।