• २० असोज २०८१, आइतबार

१३ हजार हेक्टरमा डढेलो

blog

मकवानपुरको वनमा लागेको डढेलो । तस्बिरः अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख १७ गते ।
बागमती प्रदेशमा वन डढेलो विकराल बन्दै गएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वन डढेलो लागेको वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार वन डढेलो निभाउने क्रममा धादिङ र रामेछाप जिल्लामा एक एक जना गरी दुई जनाको मृत्यु समेत भइसकेको छ । साना बोट बिरुवा र केही रुखहरूको नोक्सानी भएको छ । वर्षेनी डढेलोले ठूलो मात्रामा वनको क्षति हुने गरेको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ ।

चैतपछि सुक्खा बढ्ने हुनाले जेठ महिनासम्म प्रत्येक वर्ष वनजङ्गल डढेलोका घटना बढ्ने गरेका छन् । डढेलोका कारण प्रदेशमा चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जङ्गली जनावरको पनि आगलागीका कारण मृत्यु हुने गरेको छ । रामेछाप जिल्लामा वन डढेले बस्तीमा पस्दा एकघर र २९ वटा गोठ नष्ट भई १०१ वटा पशु चौपाया क्षति हुँदा करिब डेढ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा वन डढेलो लगाई क्षति पुर्‍याउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर पनि गरिएको छ । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ । यो समयमा डढेलो धेरै लाग्ने गरेको छ । वर्षा नभए जेठसम्म डढेलोको जोखिम रहन्छ । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको छ । लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहदा वन र धनजनको क्षति धेरै हुने देखिन्छ ।

गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्ज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको छ । वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ । मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ । डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको वासस्थान नासिने लगायतका समस्या निम्तिने गरेको छ ।

वन व्यवस्थापनको हिसाबले प्रदेशमा चार हजार ५०३ वटा सामुदायिक वन, तीन हजार ३३७ वटा कबुलियती वन, ३९ वटा धार्मिक वन, २ वटा संरक्षित वन र ५७९ वटा निजी वन रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बागमती प्रदेशमा कुल क्षेत्रफलको ५१ दशमलव ५३ प्रतिशत वन र २ दशमलव २० प्रतिशत अन्य काष्ठ तथा बुट्यान क्षेत्रगरी ५३ दशमलव ७३ प्रतिशत वनक्षेत्र रहेको छ । प्रदेशका १३ जिल्ला मध्य मकवानपुरमा सबैभन्दा बढी ६८ दशमलव १५ प्रतिशत र भक्तपुरमा सबैभन्दा कम २० दशमलव १० प्रतिशत वन क्षेत्र छ ।

बागमती प्रदेशअन्तर्गत चितवन, राप्ती, मकवानपुर, मरिण, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र धादिङ डिभिजन कार्यालय छ । वन निर्देशनालय हेटौँडा मातहत १५ वटा डिभिजन वन कार्यालय र ७ वटा भू–तथा जलाधार व्यवस्थापन कार्यालय छ ।