• २० असोज २०८१, आइतबार

चम्पादेवी र सुनकोशी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज २० गते । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

सरकारले बाढी पहिरो प्रभावित देशका ४१ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा ओखलढुङ्गाका यी दुई पालिका सूचीमा परेका हुन्। बाढी पहिरोबाट बढी प्रभावित चम्पादेवी र सुनकोशी गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक डा. नारायण ढकालले बताउनुभयो । 

गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षातका कारण सुनकोशी नदीमा आएको बाढीले चम्पादेवी गाउँपालिकाको एउटै वडामा ४२ घर डुबामा परेका थिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा ५०० रोपनी भन्दा बढी धान खेत बाढीले डुबान तथा बगाउँदा हजारौं मुरी पाक्न लागेको धानबाली नष्ट भएको छ । दुई घर बगाउनुका साथै एक दर्जन घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

बाढीले ओखलढुङ्गासँग जोडिएका दुई वटा झोलुङ्गे पुल बगाउनुका साथै तीन वटालाई क्षति गरेको छ । सम्बन्धित पालिका र सरोकारवाला निकायको सिफारिस र ताकेताका आधारमा यी दुई पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै राहत वितरण र पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।