• २० असोज २०८१, आइतबार

नेपाल बैँकद्वारा उद्धार कोषमा दुई करोड सहयोग

blog

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण गर्दै नेपाल बैंकका कर्मचारी ।

काठमाडौँ, असोज २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले सो रकम जम्मा गरेका हुन् । 

बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुनेगरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो । 

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिबाट सहयोगको क्रम जारी छ ।