• २० असोज २०८१, आइतबार

खुल्न थाले अवरुद्ध राजमार्ग

blog

रामेछाप र सिन्धुली सिमानामा रहेको खुर्काेटको पुल निर्माणका लागि सामान लिएर आउँदै गरेका मालवाहक ट्रक । तस्बिर : रासस

काठमाडौँ, असोज २० गते । भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् । राजधानीको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ सञ्चालनमा आइसकेका छन् भने अन्य राजमार्ग तथा भित्री सडक सञ्चालनमा ल्याउन अनेकन प्रयास भइरहेका छन् ।

अहिलेसम्म सञ्चालनमा आउन नसकेका राजमार्ग तथा सडकको विकल्पमा विभिन्न सडक प्रयोग गरी सवारीसाधन सञ्चालनमा ल्याउने प्रयास गरिएको छ । गत साता गएको बाढीले सबभन्दा बढी क्षतिग्रस्त भएको काठमाडौँलाई मुलुकको पूर्वी क्षेत्रसँग जोड्ने बिपी राजमार्गको सबभन्दा ठुलो विकल्प काठमाडौँ–हेटौँडा जोड्ने सडक बनेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले अहिले काठमाडौँबाट चन्द्रागिरि–चित्लाङ–पालुङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिने सडक सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । त्यसै गरी काठमाडौँबाट त्रिभुवन लोकपथ (बाइरोड) भएर पनि हेटौँडा पुग्न सकिने छ । त्रिभुवन लोकपथको थानकोट–चन्द्रागिरि–चित्लाङ–कुन्छाल–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै हेटौँडा पुग्न सकिन्छ । यसै लोकपथको थानकोट–नौबिसे–पालुङ–सिमभन्ज्याङ–भैँसे हुँदै पनि हेटौँडा पुग्न सकिन्छ । 

यसै गरी काठमाडौँ, थानकोट, नौबिसे, मुग्लिङ हुँदै नारायणगढबाट हेटौँडा पुग्ने गरी सवारीसाधन सञ्चालनमा आइसकेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । हेटौँडाबाट पूर्व जानका लागि प्रयोग गरिने हेटौँडा–सिन्धुली–चतरा–धरान (मदन भण्डारी राजमार्ग) र पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ ।

बाढीपहिरोले अवरुद्ध काठमाडौँ–हुमाने–फाखेल–कुलेखानी हुँदै हेटौँडा जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने ट्राफिक प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । फाखेल सडकखण्डमा आएको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ । 

बिपी राजमार्गको अर्को विकल्प

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बिपी राजमार्गको विकल्पमा काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरी बिपी राजमार्ग निस्कने छोटो दुरीको सडक शनिबारबाट सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार भकुन्डेबेँसीबाट तिमाल, खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी पार गर्नु पर्छ । रामेछाप र सिन्धुलीको सिमानाको सुनकोशी नदीको पक्की पुल सञ्चालनमा छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि शनिबारदेखि सो मार्ग सञ्चालनमा आए पनि आइतबारदेखि ठुला सवारीसाधनका लागि समेत सञ्चालनमा आउने छ ।

अझै अवरुद्ध छन् यी सडक

त्यसै गरी काठमाडौँ–हेटौँडा जोड्ने अन्य राजमार्ग र सडक अझै अवरुद्ध छन् । कान्ति लोकपथको सातदोबाटो–हेटौँडा खण्ड, बल्खु–दक्षिणकाली–सिस्नेरी –कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड, बल्खु–दक्षिणकाली–फाखेल–कुलेखानी–भीमफेदी–हेटौँडा खण्ड र चन्द्रागिरि–मार्खु–कुलेखानी–भीमफेदी–हेटौँडा अवरुद्ध छन् ।