• २ जेठ २०८१, बुधबार

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

blog

सशस्त्र प्रहरीले बरामद गरेको विभिन्न अवैध सामान ।

गजेन्द्र गुरुङ

खजुरा, वैशाख १७ गते । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलीगरी नेपाल ल्याइएका ६ लाख रुपियाँ बढीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ६ लाख २४ हजार ४० रुपियाँ बराबरका सामान बरामद गरेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा १५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका एक लाख ५० हजार रुपियाँ बराबरको एक सय थान किप्याड मोबाइल, दुई लाख ३४ हजार चार सय नौ रुपियाँ बराबरका लत्ताकपडा, चिसो पेय पदार्थ, सुर्तीजन्य पदार्थ तथा किराना सामग्री र ७९ हजार पाँच सय रुपियाँ बराबरको तरकारी बरामद गरेको हो ।

त्यसैगरी सशस्त्रको जमुनाहस्थित बिओपीले जमुनाह नाकाबाट भारतबाट ल्याउँदै गरेका ४२ हजार सातसय रुपियाँ बराबरको अवैध लत्ताकपडालगायतका अन्य सामग्री बरामद गरेको छ । आइतबार नै कालाबञ्जार बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ कालाबञ्जारबाट भन्सार छली गरेर ल्याइएका ल्याइएको १७ हजार एक रुपियाँ बराबरको लत्ताकपडालगायतका अवैध सामग्री बरामद गरेको डाँगीले बताउनुभयो ।

बरामद गरिएका सबै अवैध सामग्रीहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमाक्षेत्रमा हुने सबै किसिमका अवैध तस्करीलगायतका अन्य गतिविधिहरु रोकथाम तथा न्यूनीकरण गर्न त्यसका विरुद्ध सशस्त्र प्रहरीले सिमानाका क्षेत्रमा कडा निगरानी गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो ।