• २ जेठ २०८१, बुधबार

अझै भएन इप्रका पुनर्स्थापना

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख १७ गते । सशस्त्र द्वन्द्वका बेला दुई दशकअघि सुरक्षाका कारणले विस्थापित भएको बाँकेको दुर्गम मानिने नरैनापुरको इलाका प्रशासन कार्यालय अझैसम्म पनि पुनर्स्थापना  हुन सकेको छैन । इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न नपाएको अधिकांश नागरिकको गुनासो छ । नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा स्थानीयलाई नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन ४५ किलोमिटर टाढा सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ ।

नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न गाउँपालिकाले पटक पटक जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित निवेदन पेस गरे पनि माग पूरा नभएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । 

उहाँले सङ्घीयताको मर्म र भावना अनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा जनताले लामो समयदेखि सास्ती बेहोर्नु परेको बताउनुभयो । 

अध्यक्ष शाहले थप्नुभयो, “४५ किलोमिटर टाढा भएकाले नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा पुगेर सेवा लिन निकै समस्या छ । नागरिकलाई गाउँ गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावना अनुसार गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय आवश्यक छ ।” इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने भवनको व्यवस्था गाउँपालिकाले गर्ने जनाए पनि कुनै सुनुवाइ नभएको अध्यक्ष शाहको गुनासो छ । 

इलाका प्रशासन कार्यालय पुनस्र्थापनाका लागि बारम्बार विभिन्न निकायमा आग्रह गर्दा पनि बेवास्ता भइरहेको गाउँपालिकाले जनाएको छ । इलाका प्रशासन कार्यालय नेपालगन्जमा हुँदा सेवा लिन पुग्न समस्या हुनुका साथै समय, पैसा फजुल खर्च भइरहेको छ । सशस्त्र द्वन्द्वकालको समयमा असुरक्षाको कारण देखाउँदै इलाका प्रशासन कार्यालय नरैनापुरलाई नेपालगन्जमा सारिएको थियो तर शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि सो कार्यालय पुनस्र्थापना नगरेर नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमै राखिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नरैनापुरमा इलाका प्रशासन कार्यालय सञ्चालनका लागि आफू गम्भीर रहेको जनाउँदै सोबारेमा आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो ।  दरबन्दी र ठाउँको समस्या भए पनि छिट्टै ती समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।