• ३१ वैशाख २०८१, सोमबार

जापानमा सुष्मालाई स्वर्ण

blog

गोरखापत्र समाचारदाता 

ओसाका (जापान), वैशाख १६ गते । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जित्नुभएको छ । 

जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, ट रजत र चार कांश्यसहित कूल ११ पदक जितेको छ । नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बन्नुभएको हो । उहाँले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराउनुभयो । 

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउनु भयो । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाउनुभएको थियो । तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८–१७, ५–४ स्तब्ध हुनुभयो ।

यस्तै श्रीकृष्ण खड्का, निरज देउवा, शानी रानामगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जित्नुभएको छ । ८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित हुनुभयो ।

महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित हुनुभयो । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो हुनुभयो ।यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले कांश्य पदक जित्नुभएको छ ।

नेपाल टिमका पुरुष प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले यस प्रतियोगितामा नेपालले यो भन्दा बढी स्वर्ण पदकको अपेक्षा गरेको भएपनि समग्रमा खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । ‘‘धेरैजसो फाइनल जापानका खेलाडीसँग परेकोले पनि नेपाललाई घाटा भयो । जापानी खेलाडीहरुलाई घरेलु कोर्ट र समर्थकको फाइदा पनि भए जस्तो लाग्छ ।’’

यसैगरी नेपाल महिला टिमकी प्रशिक्षक विद्या राईले सुष्माबाट स्वर्ण पदक प्राप्त भएकोमा खुशी व्यक्त गर्दै टेक्निकल खेल खेलेर जापानी खेलाडीलाई हराएकोमा आफू अझ बढी खुशी भएको प्रतिक्रिया दिनुभयो ।

जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो सङ्घ र ओसाका तेक्वान्दो सङ्घको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता रहेको थियो ।