• १२ साउन २०८१, शनिबार

विश्वासको मत लिने तयारी

blog

काठमाडौँ, जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्षी दल र सत्ता समीकरणमा रहेका दलबिच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ ।”

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएदेखि प्रमुख प्रतिपक्षीसहितका दलको अवरोधले दुवै सदनको कामकारबाही अवरुद्ध हुँदै आएको छ । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी गराउनुभयो । विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा नरहेको उहाँको भनाइ थियो । 

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेको जानकारी गराउनुहुँदै आगामी बजेटमार्फत जनताका आकाङ्क्षा सम्बोधन गरिने बताउनुभयो । “सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने र संविधानले व्यवस्था गरे अनुसारको बजेट बनाउनेतिर छ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेटले बोक्नै पर्छ,” उहाँले भन्नुभयो ।

लोकतन्त्र सुदृढीकरण गर्न पनि कम्युनिस्ट विचार एकीकृत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कम्युनिस्ट आन्दोलनका दस्ताबेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ । लोकतन्त्र सुदृढीकरण र जनताको आकाङ्क्षा पूरा गर्न सबै एकीकृत हुनु पर्छ ।”

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले प्रकाशित गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र ‘कालीकोट स्मारिका’ को विमोचन गर्नुभयो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गर्दै सो टिप्पणी गर्नुभयो । उहाँले देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टहरूबिचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्नेमा जोड दिनुभयो ।