काठमाडौँ, जेठ ६ गते । समाज कल्याण परिषद् मातहत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पैसाको अभाव झेल्दै आएको छ । ज्येष्ठ नागरिकको अवस्थाबारे नीतिगत सुझाव दिने उद्देश्यले २०७२ सालमा कोष स्थापना गरिए पनि बजेट अभावका कारण पर्याप्त काम गर्न नसकेको हो ।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले कोषसँग भएको ४६ लाख रुपियाँ मुद्दती खातामा राखेर खुद्रा मसिना काम गरे पनि प्रभावकारी काम हुन नसकेको स्वीकार गर्नुभयो । “कर्णाली प्रदेश र दलित समुदायले ६० वर्षमा वृद्धभत्ता पाउँछन् । अरू समुदायले ६८ वर्षमा भत्ता पाउने व्यवस्था छ । कुल ३० लाख वृद्धवृद्धाबारे नीतिगत सुझाव दिन कोष स्थापना भयो,” उहाँले भन्नुभयो, “जनशक्तिदेखि प्रायाप्त बजेट नहुँदा देशभरका जेष्ठ नागरिकको अवस्था बुझ्ने र राज्यलाई नीतिगत सुझाव दिन सकिएन ।”
उहाँले कोषको मुद्दती खाताको बजेटले ज्येष्ठ नागरिकको केही अध्ययन, ज्येष्ठ नागरिकलक्षित पुस्तक, गीत, भिडियो र भित्तेपात्रो निकाल्न सफल भएको बताउनुभयो । कोषलाई जम्मा दुई जना मात्रै कर्मचारी दिएकाले अरू बाह्य जनशक्ति प्रयोग गरेर काम हुँदै आएको छ ।
उहाँले देशमा ज्येष्ठ नागरिकको सङ्ख्या वृद्धि हुँदै गए पनि त्यसमा राज्यको कुनै नीतिगत योजना नरहेको उहाँले बताउनुभयो । राज्यले आफूलाई प्रयाप्त बजेट दिएमा ठोस सुझाव दिने गरी काम गर्ने इच्छा भएको उहाँले बताउनुभयो ।
“देशका दूरदराजका ज्येष्ठ नागरिकको हालत कस्तो छ ? कसरी जीवन निर्वाह गर्दै आएका छन् ? वृद्धा भत्ताको प्रभावकारीका कस्तो छ ? ती समग्र विषयमा ज्येष्ठ नागरिकको अध्ययन गर्नैपर्ने छ” उहाँले भन्नुभयो, “अरू ज्येष्ठ नागरिकले हासिल गरेका अनुभव, सिप र ज्ञानलाई सङ्कलन गरेर राज्यको सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता छ ।”
उहाँले राजनीतिज्ञ, सरकारी र गैरसरकारी क्षेत्रबाट सेवानिवृत्त भएका जनशक्तिलाई कहाँ प्रयोग गरेर राज्यले लाभ लिन सक्छ भन्नेबारे अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गर्नुभयो ।