• ३१ वैशाख २०८१, सोमबार

हत्या गरी फरार रहेका अभियुक्त नौ वर्षपछि पक्राउ

blog

काठमाडौँ, वैशाख १६ गते । फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नौ वर्षअघि फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो ।

अभियुक्तलाई काठमाडौंस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपुको छोरीको हत्या गरी फरार भएका थिए । फुपुको छोरी २३ वर्षीया सुनमाया किसान(सार्की)को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कात्तिक १ गते शव फेला परेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालिन कुहु गा.वि.स. वडा नं. ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौँ जिल्ला तत्कालित सेतीदेवी गा.वि.स. वडा नं. तौथलीमा आफ्नो मामा गंगाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् ।

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठुलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिनुभयो ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।