• २१ असार २०८१, शुक्रबार

खाद्यान्नमा परनिर्भरता बढ्दो : पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, वैशाख ७ गते ।  मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो । 

यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताउनुुभयो । 

केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ५० अर्ब ७९ करोड रुपियाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ ।  आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६५ करोड रुपियाँको सात लाख ८८ हजार चार सय ९२ मेट्रिक टन चामल आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ३२ अर्ब ६० करोड रुपियाँको सात लाख ६९ हजार पाँच सय ६८ मेट्रिक टन आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

केन्द्रका अनुसार आव ०७४÷७५ मा २९ अर्ब ४१ लाख रुपियाँको सात लाख ३९ हजार २०८ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा २३ अर्ब ८७ करोड रुपियाँको पाँच लाख ९० हजार १५ मेट्रिक टन आयात भएको थियो । 

यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा १६ अर्ब रुपियाँको पाँच लाख ९० हजार ९४२ मेट्रिक टन मकै आयात भएकोमा आर्थिक वर्ष ०७६/७७ मा १४ अर्ब ७५ करोड रुपियाँको चार लाख ४८ हजार ४४३ मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा १२ अर्ब ९५ करोड रुपियाँको चार लाख २० हजार सात सय ५३ मेट्रिन आयात भएकोमा आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब ९१ करोड रुपियाँको चार लाख २० हजार ७५३ मेट्रिक टन आयात भएको छ । 

आर्थिक वर्ष ०७३÷७४ मा १० अर्ब ६४ करोड रुपियाँको चार लाख ३८ हजार ३८१ मेट्रिक टन मकै आयात भएको केन्द्रको तथ्याङ्क छ । यस्तै, आर्थिक वर्ष ०७७÷७८ मा ११ अर्ब ९८ करोड रुपियाँको तीन लाख ८८ हजार २७९ मेट्रिक टन गहुुँ आयात भएकोमा आर्थिक ०७६/७७ मा सात अर्ब ९१ करोड रुपियाँको दुई लाख ३८ हजार ६५५ मेट्रिक टन आयात भएको थियो । 

आव ०७५/७६ मा पाँच अर्ब ८१ करोड रुपियाँको एक लाख ९६ हजार १३३ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७४÷७५ मा दुई अर्ब ८४ करोड रुपियाँको एक लाख चार हजार ८९९ मेट्रिक टन आयात भएको थियो । 

आर्थिक वर्ष ०७३÷७४ मा पाँच अर्ब २३ करोड रुपियाँको एक लाख ९६ हजार ६२२ मेट्रिक टन गहुँ आयात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। प्रकाश सञ्जेलले स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्न आयात बढ्दै गएको बताउनुुभयो । यो वर्ष बेमौसमी वर्षाका कारणले धानको उत्पादनमा कमी आए पनि अन्य वर्षमा सामान वृद्धि भएको छ । उहाँले भन्नुुभयो, “उपभोग गर्ने बानीमा परिवर्तन आएकाले पनि चामल आयात बढी हुने गर्छ ।” उत्पादन बढाउनका लागि स्थानीय र प्रदेश तहमा बजेट विनियोजन गरे पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको उहाँको  भनाइ छ ।

व्यापारविज्ञ रविशङ्कर सैँजू कृषि प्रविधि ज्ञान अभाव, उन्नत मल, बीउ र प्रविधि समयमा किसानसम्म नपुुग्दा उत्पादन बढ्न नसकेको बताउनुुहुन्छ । स्वदेशीमै उत्पादन गर्न सकिने उत्पादन पनि ठूलो परिणाममा आयात भइरहेको छ । उहाँले भन्नुुभयो, “कृषि विकास मन्त्रालयको कमजोरीका कारण उत्पादन बढ्न सकेको छैन ।”

चामल भारत, चीन, थाइल्यान्ड, जापान, टर्की, इटाली, म्यानमारबाट आयात हुने गर्छ । मकै भारत, अर्जेन्टिना, साउथ अफ्रिका, थाइल्यान्ड र गहुँ भारत र म्यानमारबाट आयात हुने गर्छ । चामल र गहुँ उपभोगका लागि र मकै कुखुराका दानाका लागि आयात हुन्छ ।