• २७ वैशाख २०८१, बिहिबार

लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि अभियान सुरु

blog

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । फाइल तस्बिर

भरतपुर, वैशाख १५ गते । चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको शुभारम्भ गर्दै सभ्य, सुन्दर र  सु-संस्कृत महानगर निर्माणका लागि लागूऔषध नियन्त्रण गर्न जरुरी रहेको र त्यसका लागि उहाँले सडक मानवमुक्त पहिलो महानगर बनाइएजस्तै लागूऔषध नियन्त्रणमा पनि देशमै उदाहरणीय महानगर बनाउने गरी आफूले कार्य गरिरहेको बताउनुभयो  । 

महानगर उपप्रमुख चित्रसेन अधिकारीले पनि विकृति विसङ्गतिरहित समाजको निर्माणका लागि युवा वर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याउन अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सात वटै स्थानीय तहमा अभियान सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो । 

अभियानका क्रममा सबै स्थानीय तहका टोलटोलमा सरोकारवालासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध नियन्त्रणमा सबैको सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो । रासस