• २७ वैशाख २०८१, बिहिबार

एपिएफलाई महिला भलिबल उपाधि

blog

उपाधि विजेता एपिएफ टोली ।

काठमाडौँ, वैशाख १५ गते । नेपाल एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–२२, २६–२४, २५–१९ को जित निकालेको हो । 

एपिएफकी पूजा थारु फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । उपाधिसँगै एपिएफले चार लाख ९९ हजार रुपियाँ तथा उपविजेता पुलिसले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पायो । 

साविक विजेता न्यु डायमन्डले तेस्रो भयो । न्यु डायमन्डले नेपाल आर्मीलाई २४–२६, २५–२०, २५–१५, २५–२० ले हराएको थियो । न्यु डायमन्डले एक लाख २५ हजार तर आर्मीले ६२ हजार पाँच सयरुपियाा पुरस्कार पायो । एपिएफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५० हजार रुपियाँबाट पुरस्कृत हुनुभयो । 

यस्तै पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट स्पाइकर, एपिएफकी कविता भट्ट उत्कृष्ट सर्भर, न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपिएफकी जसना महतो उत्कृष्ट सेटर, पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्ट सबैलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

विजेतालाई बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा चार टोलीले भाग लिएका थिए ।