• २७ वैशाख २०८१, बिहिबार

टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

blog

उपाधिसहित प्रदीप खड्का र अभिलाषा विष्ट ।

काठमाडौँ, वैशाख १५ गते । प्रदीप खड्का र अभिलाषा विष्ट १०औँ सिटिजन्स वैँक खुला टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बन्नुभएको छ । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गर्नुभएको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा हराउनुभयो । 

महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सीधा सेटमा ६–० र ६–१ ले पाखा लगाउनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोस्रोले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासँग मिलेर स्वर्ण जित्नुभयो । 

काठमाडौं जिल्ला टेनिस सङ्घद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जित्नुभयो । जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात जित्नुभएको हो । 

प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ पहिलो हुनुभयो । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुम्नुभयो । प्रतियोगितामा एक सय ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।