• २६ वैशाख २०८१, बुधबार

इस्माका अग्निपीडितलाई रेसुङ्गाको सहयोग

blog

अग्निपीडितलाई रेसुङ्गा सहयोग । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १५ गते । 
गुल्मीको इस्मा गाउँपालिकाका अग्निपीडितको सहयोगका लागि रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आगलागी भएको स्थानमा पुगेर इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्कालाई दुई लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

आगलागी भएको स्थानमा पुगेर त्यहाँका अग्निपीडित नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्नुहुँदै नगरप्रमुख पन्थीले राहत तथा पुनर्निर्माणका लागि सो सहयोग प्रदान गरिएको बताउनुभयो । समाजमा घट्ने कुनै पनि विपत्तिमा एक अर्को स्थानीय तहको समन्वय, सहकार्य एवम् सहयोग जरुरी रहेको उहाँले बताउनुभयो ।

एक स्थानीय तह र नागरिकलाई विपत्ति तथा समस्या पर्दा अर्को स्थानीय तहले गरेको अभिभावकत्व अनुकरणीय रहेको भन्दै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले धन्यवाद दिनुभयो । उहाँले विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाबाट सहयोग आउने क्रम जारी रहेको भन्दै राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

वैशाख ८ गते  हावाहुरीसहित लागेको भीषण आगलागीबाट यस पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट १९९ नागरिक प्रभावित भएका छन् भने दर्जनौँ पशुचौपायले ज्यान गुमाएका छन् । पालिकाले अग्नि पीडितको घर निर्माणका लागि प्रति परिवार तत्काल एक लाख रुपियाँ उपलब्ध गराउने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा (मनसुन जन्य विपद्) मार्फत प्रति परिवारलाई थप चार लाख रुपियाँ व्यवस्थापन गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक र गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको मासिक तलबको पाँच प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै, अग्नि पीडितको सहयोगको लागि गुल्मीदरबार गाउँपालिकाले पनि एक लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।