• २६ वैशाख २०८१, बुधबार

खोटाङमा ६० जना क्षयरोगी

blog

खोटाङ, वैशाख १४ गते । दश स्थानीय तह रहेको खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भएको व्यक्ति भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को प्रतिवेदनअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच-पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा दुई-दुई तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा एक-एकजना व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको हो । 

स्वास्थ्य कार्यालय खोटाङले आज आयोजना गरेको क्षयरोग मुक्त अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा पाँच आर्थिक वर्षको तथ्याङ्क प्रस्तुत गरेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आर्थिक वर्ष २०७५-७६ मा ६०, २०७६-७७ मा १५, २०७७-७८ मा ३० तथा आर्थिक वर्ष २०७८-७९ मा ४१ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख छ । 

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा क्षयरोगीको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएपछि निवारण गर्न दुईवटा स्थानीय तहका लागि मन्त्रालयबाट बजेट तथा कार्यक्रम आएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चम्लागाईंले जानकारी दिनुभएको छ । “क्षयरोग निवारण गर्न नेपाल सरकारले स्थानीय सरकारलाई जबाफदेही बनाउने कार्यक्रमहरू ल्याएको छ । यसैअन्तर्गत यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि रु ३० लाख ९७ हजार र हलेसी तुवाचुङ नगरपालिकाका लागि रु २७ लाख ८५ हजार बजेट प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “दुईवटा स्थानीय तहमा बढी सङ्क्रमित भेटिएकाले मन्त्रालयबाटै बजेट तथा कार्यक्रम आएको हो । अन्य स्थानीय तहमा कार्यालयबाटै नियमित कार्यक्रम सञ्चालन हुन्छ ।”

क्षयरोग मुक्त नेपाल अभियान खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । “क्षयरोग मुक्त नेपाल अभियान सबैको साझा कार्यक्रम हो । यसलाई सफल पार्न सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारको यो अभियानलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ । यसलाई नेपाल सरकारको कार्यक्रम त हो भनेर औपचारिकता पूरा गर्नपट्टि मात्र लाग्नु हुँदैन ।”

कार्यक्रममा सहभागी अग्रज पत्रकार कृष्ण आचार्यले जिल्लाका दुईवटा स्थानीय तहलाई मात्र प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्न नहुनेमा जोड दिनुभएको छ । “जिल्लाका अन्य स्थानीय तहहरू दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाभन्दा भौगोलिक हिसाबले टाढा छन् । अभियान सफल पार्न ती स्थानीय तहका स्थानीय बासिन्दाको पनि स्वास्थ्य परीक्षण गर्नुपर्छ । सहज ठाउँको स्थानीय बासिन्दालाई मात्र ध्यानमा राखेर कार्यक्रम गर्दा दूरदराजका ठाउँहरूमा भयावह अवस्था आउन सक्छ ।”

क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत गठित जिल्लास्तरीय समितिको बैठकसँगै आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, औषधि व्यवसायी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले नेपाल सरकारको राष्ट्रिय अभियान सफल पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । 

सरकारको राष्ट्रिय अभियान सफल बनाउन जिल्लाका दशवटै स्थानीय तह तथा ७९ वटै वडामा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य प्रमुख चम्लागाइले बताउनुभयो । स्थानीय तहमा पालिका प्रमुख तथा वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर क्रियाकलाप गरिने जनाइएको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको दिक्तेल–रुपाकोट, रुपाकोट–मझुवागढी नगरपालिकामा यसअघि नै ‘क्षयरोग मुक्त नेपाल अभियान’ सुरु गरिएको छ । क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्ने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको बृहत् राष्ट्रिय रणनीतिक योजनाअन्तर्गत मुलुकभरिका एक सय २५ स्थानीय तहमध्ये दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिकामा चालु आर्थिक वर्षदेखि क्षयरोग मुक्त नेपाल अभियान सुरु गरिएको जनाइएको छ । 

क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत क्षयरोग मुक्त नगर निर्माणका लागि नगरस्तरीय समिति गठन गरिसकिएको छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रिय रणनीतिक योजना तयार पारेको हो ।