• २६ वैशाख २०८१, बुधबार

चिनियाँ लगानी आउने प्रतिबद्धता

blog

काठमाडौँ, वैशाख १५ गते । नेपाल र चीनबिच मानव संसाधन विकास सहयोगसम्बन्धी सम्झौता भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

सोही कार्यक्रममा स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता पनि भएको छ । उक्त सम्झौतामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र प्रमुख हुईले हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम प्रदान गर्न चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ । 

सम्झौतामा हस्ताक्षर गर्ने उक्त चिनियाँ संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी एजेन्डामा काम गर्दै आएको छ । 

सो कार्यक्रममा अर्थमन्त्री पुनले नेपाल र चीनले एकअर्काका आकाङ्क्षा र संवेदनशीलतालाई सम्मान गर्दै इमानदारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको बताउनुभयो । चीन र नेपाल पक्षबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा गरिएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाको कार्यान्वयनमा उहाँले जोड दिनुभयो । 

चीनले पछिल्लो समय हासिल गरेको विकास लोभ लाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको अर्थमन्त्री पुनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उहाँले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गर्नुभयो । 

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वसमेत गर्नुभएका लियु झाओ हुईले नेपालको विकासमा चीन सधैँ साथमा रहेको बताउनुभयो । राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक एक गर्दै पालना गर्दै जानेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो । आफूहरू तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको सिलसिलामा नेपाल आएको बताउँदै उहाँले नेपालमा चिनियाँ लगानी आउने बताउनुभयो ।