• १९ असार २०८१, बुधबार

सत्ता गठबन्धनको बैठक : छलफल सहमति नजिक

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ६ गते। चुनावी तालमेलको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष नजिक पुगेको छ। सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धन निष्कर्ष नजिक पुगेको हो। 

मंगलबार करिब चार घण्टासम्म चलेको बैठकपछि बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री कार्कीले छलफल सकारात्मक रुपले अगाडि बढेको र निष्कर्ष नजिक पुगेको बताउनुभएको हो।

‘आज प्रधानमन्त्रीको अध्यक्षतामा शीर्ष नेताको बैठक लामो समयदेखि जारी थियो। बैठकमा हरेक कोणबाट विचार आएका छन्। सबै विचार सकारात्मक रुपले अगाडि बढेका छन्’, मन्त्री कार्कीले भन्नुभयो।

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच चुनावी तालमेलका लागि केही दिनयता शीर्ष नेतृत्व छलफलमा छ। ‘समग्रमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको विषयमा छलफल गरेका छौँ’, सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भन्नुभयो, ‘हामी अन्तिम रुप दिन सकारात्मक छौँ।’ 

सोमबारको गठबन्धन बैठकमा सहमति भएको र मंगलबार त्यसलाई अन्तिम रुप दिने बताइएको थियो। मङ्गलबार बिहान साढे ११ बजे बस्ने भनिएको गठबन्धनको बैठक प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यव्यवस्तताका कारण दिउँसो २ बजे सारिएको थियो। त्यो बैठक एक घण्टा ढिला सुरु भएको थियो।

बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनका शीर्षनेता सहभागी हुनुहुन्थ्यो।