• १९ असार २०८१, बुधबार

लुम्बिनी प्रदेश सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा : ४३ लाख बिगो

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ६ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

मंगलबार अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख श्रीधर ज्ञवाली, आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा सरकारी सम्पत्ति हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो। 

किसानलाई उपकरण उपलब्ध गराउने भन्दै झुटो बिल भरपाई बनाएर दोहोरो बिल भुक्तानी गरेको आरोप उनीहरुमाथि लगाइएको छ। सम्झौता विपरितको उपकरण खरिद गरेको आरोपमा अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारी महाशाखा प्रमुख ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली र आधुनिक कृषि किसान संसार र त्यसका निर्देशक राजाराम तिवारी विरुद्ध ४३ लाख ३७ हजार पाँच सय बिगो, तीन महिनादेखि ३ वर्षसम्म कैद र सोही बमोजिमको जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो।