भरतपुर (चितवन) वैशाख १३ गते । खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालयले सिंचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख गुरागाईले नारायणी लिफ्ट सिंचाइ योजनाबाट एक दशकपछि किसानको मागअनुसार मकै र धान बालीलाई लक्षित गरी हिउँदमा पनि पानी छाडिएको बताउनुभयो । उहाँले दुई हजार लिटर प्रतिसेकेण्ड पानी तान्ने सानो पम्प जडानपछि हिउँदमा पनि पानी छाड्न सहज भएको बताउनुभयो ।
त्यसअवसरमा नगरप्रमुख दाहालले खडेरीले मकै सुक्न थालेपछि किसानको सहजताका लागि पानी छाडिएको बताउनुभयो । आकाशे पानी नपर्दा सिंचाइको वैकल्पिक उपायका रुपमा लिफ्ट सञ्चालन गरिएको र यसले स्यालो र डिप ट्युबेलका लागि पानी रिचार्जमा सघाउँ पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।
महानगर प्रमुख दाहालले ३९ करोडको ठेक्का लगाएर नारायणी लिफ्टमा नयाँ मेसिन जडान गर्न लागिएको र हाल दुई वटा मेसिन जडानको काम सम्पन्न भइसकेका बताउनुभयो । ‘बी’ क्यानलको पानी क्षेत्रपुरबाट यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरीखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्ने गरेको छ । नारायणी लिफ्ट सिंचाइ प्रणाली उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि वि.सं.२०६९ पछि यस वर्ष पहिलो पटक हिउँदमा पनि नारायणी लिफ्टको पानी छाडिएको बताउनुभयो । रासस