• २२ वैशाख २०८१, शनिबार

घट्यो चिया निर्यात

blog

काठमाडौँ, वैशाख १३ गते । ‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ मूल नाराका साथ राष्ट्रिय चिया तथा कफि विकास बोर्डले २७ औँ राष्ट्रिय चिया दिवस मनाउने भएको छ । 

चिया, कफीको प्रवर्धन गर्ने उद्देश्यले प्रत्येक वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालले चिया निर्यात गर्छ । पछिल्लो समय २.१९ प्रतिशतले निर्यात घटेको छ । 

नेपालको प्रमुख बजार भनेको भारत हो । भारतले बेलाबेलामा अवरोध खडा गरेका कारण निर्यात घटेको बोर्डले जनाएको छ । केही दिनदेखि काँकडभिट्टा नाकाबाट जाने चिया निर्यातमा भारतले रोक लगाएको छ । विगत एक हप्तादेखि त्यहाँ ट्रक रोकिएका छन् । यस्ता विविध कारणले चिया निर्यातमा कमी आएको बताइएको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा दुई अर्ब ५० करोड ६५ लाख २० हजार रुपियाँ बराबरको ९८ लाख ४९ हजार २८९ किलो चिया र कफी निर्यात भएको छ । जब कि गत आव २०७९/८० को आठ महिनामा पाँच अर्ब ४९ करोड ७८ लाख ५४ हजार रुपियाँ बराबरको दुई करोड ६० लाख सात हजार ९०७ किलो चिया तथा कफी निर्यात भएको थियो । 

यो हिसाबले गत आवको तुलनामा २.१९ गुणाले कम निर्यात भएको हो । नेपाल चियामा आत्मनिर्भर निर्यात गर्ने देशमा परे पनि भारतलगायत देशबाट आयात पनि भइरहेका छन् । 

अधिकांश चिया निर्यात हुने नाका काँकडभिट्टा नै हो । नेपालमा उत्पादन हुने आधा चिया भारतमा निर्यात हुन्छ । गुणस्तर परीक्षणका लागि नेपालसँग आफ्नो प्रयोगशाला भएका कारण भारतको कलकत्ता गएर परीक्षण गराउनुपर्ने बाध्यता नेपाली किसान तथा उद्योगीसँग रहेको छ । चिया उत्पादनबाट वार्षिक आठ अर्बभन्दा बढीको कारोबार हुने गरेको बोर्डको तथ्याङ्कमा उपलब्ध छ । 

गत वर्ष एक करोड १९ लाख केजी चिया तेस्रो देशमा निर्यात गरिएको आँकडा छ । राष्ट्रिय कफी तथा चिया विकास बोर्डका उपनिर्देशक डा. लक्ष्मण पोखरेलका अनुसार गत आवमा २० हजार हेक्टरमा चिया खेती भएको थियो । जसमा दुई करोड ६४ लाख एक हजार ९४२ केजी चिया उत्पादन भएको थियो । प्रत्यक्ष रोजगारी पाउने एक लाख बढी मानिस छन् । उत्पादित चियामध्ये अर्थोडक्स ३०, सिटिसी ३८ गरेर ६८ वटा ठुला उद्योग सञ्चालनमा छन् । देशमा १६० भन्दा बढी चिया बगान, १७ हजार बढी किसान त्यसमा आबद्ध छन् ।