• २४ वैशाख २०८१, सोमबार

सप्तरीमा अपहरित मगरको उद्धार

blog

देवरामप्रसाद यादव

सप्तरी, वैशाख १२ गते । सप्तरीको सुरुङ्गा नगरपालिकाको कडरबोनाबाट सप्तरी प्रहरीले अपहरणमा परेका उदयपुरका एक जनाको सकुशल उद्धार गरेको छ । धनुषाको मिथिला नगरपालिका ६ बाट मङ्गलबार दिउँसो अपहरणमा परेका उदउपरको कटारी नगरपालिका १० का लालबहादुर थापा मगरलाई सप्तरी प्रहरीले मङ्गलबार साँझ उद्धार गरेको हो ।  

अपहरितको आफन्तले धनुषा प्रहरीलाई खबर गरे लगत्तै खोजतलास गर्ने क्रममा मगरलाई सप्तरी प्रहरीले मंगलबार साँझ ५ बजेको समयमा उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक प्रमुख एसपी गजुसिध्दी बज्राचार्यले सञ्चारकर्मीलाई बताउनुभयो । उहाँका अनुसार मगरलाई एक समूहले चार पाङ्ग्रे गाडीमा राखेर सप्तरीतर्फ ल्याएको जानकारी पाउनसाथ खोजतलास गर्ने क्रममा कडरबोनाबाट गाडीलाई रोकेर अपहरणकारीसहितलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

उहाँका अनुसार गाडीसहित अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिराहाको गोलबजार नगरपालिका ६ का शङ्कर लामा र वडा २ का अरुण कुमार लामा रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न उनीहरूसहित मगरलाई मंगलबार राती नै धनुषा प्रहरीको जिम्मा लगाइएको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो । वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवाद पछि मगरलाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।