• २२ वैशाख २०८१, शनिबार

खरबुजा बिक्री नहुँदा लगानी नउठ्ने चिन्ता

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख ११ गते । गर्मी बढेसँगै सडक किनार तथा बजारमा खरबुजा बिक्री गर्न बसेकाहरूले पहिले झैँ व्यापार नभएको बताएका छन् । दिनानुदिन गर्मी बढिरहँदा सर्लाहीसहित तराईका जिल्लामा पूर्वपश्चिम राजमार्गसहित अन्य प्रमुख सडकका किनार र मुख्य बजार क्षेत्रमा जताततै खरबुजा बिक्री गर्न राखेको देखिन्छ । यसको बिक्री भने सन्तोषजनक नरहेको व्यापारीको भनाइ छ । 

लालबन्दी बजारस्थित राजमार्ग किनारमा खरबुजा बेच्न बस्नुभएका अशोककुमार साहुले यो वर्ष खरबुजा बिक्रीबाट लगानी उठाउनसमेत मुस्किल पर्ने अवस्था रहेको गुनासो गर्नुभयो । उहाँले पहिला पहिला दुई/तीन महिनामा खरबुजा बिक्रीबाट आफ्नो लगानी कटाएर ६०/७० हजार रुपियाँसम्म आम्दानी हुने गथ्र्यो तर यो वर्ष लगानी उठाउन गाह्रो भएको बताउनुभयो । “मान्छेसँग पैसा नै छैन, पैसा भए न यस्ता कुरा किनेर खाने हो,” साहुले भन्नुभयो, “महँगी पनि उत्तिकै छ, हामीले महँगो नै तिरेर ल्याउनु पर्छ, त्यसमा दुई पैसा महँगो गरेरै बेच्नु पर्छ ।” 

मुख्य गरी चैत, वैशाख र जेठ तीन महिना खरबुजाको बिक्री हुन्छ । लालबन्दी बजारमै खरबुजा बिक्री गर्न बस्नुभएका विनोदकुमार साह कानुले आउने ठाउँबाटै खरबुजा महँगो मूल्यमा आउँदा महँगोमै बिक्री गर्नु परेको बताउनुभयो । 

तराई क्षेत्रमा चितवन तथा पूर्वका विभिन्न जिल्लाबाट खरबुजा ल्याएर बिक्री गर्ने गरिएको छ । ८० हजार रुपियाँ लगानी गरेर खरबुजा बिक्री गर्न बस्नुभएका कानुले पनि लगानी उठाउन गाह्रो पर्ने अवस्था आएको बताउनुभयो ।  

कानुका अनुसार विभिन्न जिल्लाबाट ३५/३६ रुपियाँ प्रतिकेजी किनेर ल्याउने गरिएको खरबुजा ढुवानीसहित लगानी उठाउन यहाँ ल्याएर ५० देखि ६० रुपियाँसम्ममा बिक्री गर्ने गरिएको छ ।