• ७ जेठ २०८१, सोमबार

दुई दिन सार्वजनिक बिदाले पेट्रोलियम पदार्थको खपतमा कमी नहुने: नहुने

blog

काठमाडौं,बैशाख ६ गते । नेपाल आयल निगमले केही दिन अघि सातामा दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको खपत ३५ प्रतिशतले कमी हुने बताएको थियो । तर,एक हप्ता नबित्दै निगमले भनाइ फेरेको छ । 

शनिबार निगमले गरेको अनुगमनका क्रममा अधिकाँस सार्वजनिक सवारीहरु गुडेको पाइएकाले  सोचेअनुरुप पेट्रोलियम पदार्थको खपत कम हुने अवस्था नरहेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताउनुभयो । उहाँका अनुसार यसरी बिदाको दिन सार्वजनिक सवारीहरु सडकमै गुड्ने हो भने निगमले प्रक्षेपण गरेको अनुपातमा पेट्रोलियम पदार्थको खपत कम हुने अवस्था देखिदैन ।  

नेपाल आयल निगमले दुई दिन सार्वजनिक विदा दिँदा पेट्रोलियम पदार्थको खपतमा ३५ प्रतिशतले कमी हुने भन्दै सरकार समक्ष विदाको प्रस्ताव पठाइ सकेको छ । 

सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपतमा ३५ प्रतिशतले कमी आउने आँकलन गरिएपनि अनुगमनले भने त्यसो नदेखाएको कार्की बताउनुहुन्छ । नेपाल आयल निगमले दुई दिन सार्वजनिक विदा दिँदा पेट्रोलियम पदार्थको खपतमा कमी हुने भन्दै सरकार समक्ष विदाको प्रस्ताव पठाएको छ । 

‘निगमको प्रारम्भिक अध्यय्नले दुई दिन बिदा दिँदा सार्वजनिक सवारी कम गुड्ने सोच भएकाले पेट्रोलियम पदार्थको खपतमा ३५ प्रतिशतले कमी आउने प्रक्षेपण गरेका थियौँ । तर, शनिबार गरिएको अनुगमनका क्रममा धेरै सार्वजनिक सवारीहरु गुडेकाले अपेक्षा अनुसारको कमी हुन नसक्ने देखियो,’कार्कीले भन्नुभयो ।

यसरी आइतबार पनि बिदा दिँदा सार्वजनिक सवारीहरु गुडिरहने हो भने पेट्रोलियम पदार्थको खपतमा धेरै कमी नआउने कार्कीको भनाइ छ । ‘हाल शनिवार मात्र सार्वजनिक विदा हुँदा विदाको दिन सवारीहरु धेरै गुड्ने गरेका छन् । यसरी बिदाको दिन पनि सार्वजनिक सवारीहरु गुड्न दिने हो भने त धेरै प्रतिशतले खपत कम गर्न सकिन्न,’उहाँले भन्नुभयो । 

यही अवस्थामा दुई दिन सार्वजनिक विदा दिने हो भने १५ प्रतिशतले मात्र पेट्रोलियम पदार्थको खपत कम हुने देखिएको कार्कीको भनाइ छ  । तर, वास्तविक अवस्था भने सार्वजनिक विदा लागू भएमा त्यसको एक–दुई हप्ता पछिमात्र थाहा हुने उहाँको भनाइ छ । पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि दुई दिन विदाको साथै विद्युतीय सवारीको प्रयोग बढाउन पनि निगमले सिफारीस गरिएको कार्कीको भनाइ छ ।

यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले आयल निगमले पठाएको प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइसकिएको बताउनु भयो । उक्त प्रस्तावमा खपत कम गर्न र व्यापार घाटा कम गर्नका लागि दुई दिन सार्वजनिक विदा दिनुपर्ने मुख्य आधार रहेको उहाँले बताउनु भयो । ‘निगमले पठाएको प्रस्तावमा खपत कम गर्नका लागि मात्र दुई दिन विदाको प्रस्ताव उल्लेख रहेको छ । यसमा कति प्रतिशत खपत कम गर्ने भन्ने कुरा उल्लेख छैन,’ केसीले भन्नुभयो ‘उक्त प्रस्तावलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।