• १२ साउन २०८१, शनिबार

रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा

blog

गुल्मी समाचारदाता 

गुल्मी, वैशाख ६ गते ।  गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१०, सिमीचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको सम्पूर्ण काम पूूरा भएको उक्त आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो ।

“अहिले हामी विमानस्थलका सबै कामको अन्तिम चरणमा पुगेका छौँ । अबको केही दिनमा काम सकेर वैशाखभित्र परीक्षण उडान हुन्छ,” उहाँले भन्नुुभयो । वैशाख अन्तिमसम्ममा भए पनि परीक्षण उडान हुने उहाँले बताउनुुभयो । 

विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका काम फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इन्जिनियरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण गरेको हो । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर चार करोड पाँच लाख २९ हजार ६१० रुपियाँको लागतमा निर्माण भएको हो । 

त्यस्तै अर्को महŒवपूर्ण संरचना धावन मार्ग कालोपत्रे गर्ने कामसमेत सकिएको छ । धावन मार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको छ । रौताह हरिहरि जेभीले धावन मार्ग कालोपत्रे गरेको हो । कालोपत्रे सात करोड २५ लाख रुपियाँको लागतमा भएको हो । कोरोना, निर्माण सामग्री र निर्माण व्यवसायी आफैँको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ । 

एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण  गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ, फिलिङ, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावन मार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिनुभयो ।