• २१ कात्तिक २०८१, बुधबार

जीवनधारा पानी पँधेरा

blog

चराचर जगत्मा पानीको सर्वोपरि र बहुआयामी महत्वलाई मनन गरेर महान् चित्रकार लियोनार्दो दा भिन्चीले भनेका रहेछन्, “पानी प्रकृतिको चालक शक्ति हो ।” हुन पनि जीवात्माको प्राण रक्षादेखि बिजुली जस्तो बहुपयोगी ऊर्जा उत्पादनसम्म पानीको अहम् भूमिका छ । त्यसै भनिएको होइन, पानी नै जीवन हो भनेर ।

हाम्रो जीवनशैली र पानीबीच अवर्णनीय नाता छ । प्राणी जगत्को साझा घर पृथ्वी र पानीबीचको साइनो पनि गजबकै छ । पृथ्वीको ७१ प्रतिशत सतह पानीले घेरिएको छ । पानी नै पानीले घेरिएको भए पनि पृथ्वीमा मानिसले पिउनयोग्य पानी ज्यादै न्यून छ ।

क्यानडास्थित ‘सेफ ड्रिङ्किङ वाटर फाउन्डेसन’ को वेबसाइटमा प्रकाशित सामग्रीका अनुसार विश्वमा उपलब्ध पानीमध्ये केवल तीन प्रतिशत मात्र पिउन लायक छ । बाँकीचाहिँ समुद्रको नुनिलो पानी तथा हिउँका रूपमा रहेको छ । यद्यपि पानीको त्यही सानो हिस्सा पृथ्वीवासीका लागि पर्याप्त छ ।

पृथ्वीको दुई तिहाइ भाग पानीले ओगटेको भए पनि विश्व जनसङ्ख्याको एउटा ठूलै हिस्सा काकाकुल अवस्थामा छ । विश्व बैङ्कले जारी गरेको एक प्रतिवेदन अनुसार अझै पनि दुई अर्ब जनसङ्ख्या खानेपानीको सहज पहुँच बाहिर नै छ । प्रतिवेदनका अनुसार अहिले ७४ प्रतिशत जनसङ्ख्या खानेपानीको सहज पहुँचमा छ ।

नेपाल जलस्रोतमा विश्वकै धनी मुलुक मानिए पनि यहाँ जनसङ्ख्याको एउटा ठूलै हिस्सा पानीको सहज पहुँचबाट वञ्चित छ । संयुक्त राष्ट्रसङ्घ बालकोष (युनिसेफ) का अनुसार नेपालमा ३५ लाख मानिस खानेपानीको सहज पहुँचबाट वञ्चित छ । सन्तोषकुमार बस्नेत र भरत अधिकारीकृत पुस्तक ‘पानीको संरक्षण र बहुपयोग’ मा उल्लेख भए अनुसार नेपालको २० प्रतिशत जनसङ्ख्या पिउने पानीको सहज पहुँचबाट वञ्चित छ ।

पँधेरो संस्कृति

बाँच्नका लागि पानी अपरिहार्य भएकाले मानव जातिले आफ्नो उत्पत्तिको उषाकालदेखि नै पानीको उपयोग गरेको तथ्य सर्वस्वीकार्य छ । प्रश्न आउँछ, मानिसले कहिलेदेखि व्यवस्थित रूपमा पानी उपयोग गर्न थाले ? यसको कुनै निश्चित उत्तर भेटिँदैन । युनानी, रोमेली, सिन्धु घाटी, नाइल नदी, ह्वाङ्हो (पहेँलो नदी) जस्ता विश्वका प्राचीनतम् सभ्यतामा पानीको व्यवस्थित उपयोग गर्ने बारे अनेकन् अभ्यास भएको पाइन्छ ।

अब नेपालतिर फर्कौं । पानी उपयोगको सन्दर्भमा पानी–पँधेरालाई कसै गरी पनि भुल्न मिल्दैन । पानी–पँधेरा नेपाली जनजीवनको मौलिक पहिचान हो । सर्वसाधारणलाई सफा र स्वच्छ पानी उपहार दिनुमा पानी–पँधेराको उल्लेखनीय योगदान छ । ‘जर्नल अफ वाटर, सेनिटेसन, एन्ड हाइजिन फर डिभलप्मेन्ट’ (वर्ष ११, अङ्क ६, नोभेम्बर, २०२१) मा प्रकाशित एक शोधपत्रका अनुसार नेपालमा ५१.६९ प्रतिशत जनसङ्ख्याले पाइपबाट वितरित खानेपानी प्राप्त गर्छन् भने ४८.३१ प्रतिशतले अझै पनि स्थानीयस्तरमा उपलब्ध स्रोतबाट पानी ग्रहण गर्छन् ।

प्रस्तुत तथ्याङ्कले नेपालमा लगभग आधा जनसङ्ख्याले पानी–पँधेरा, कुवा वा अन्य स्रोतबाट पानी प्राप्त गर्छन् भन्ने दर्शाउँछ । नेपालमा ‘पँधेरो संस्कृति’ को अभ्यास युगौँ पुरानो देखिए पनि यसको अभिलेख लगभग १५ सय वर्ष पुरानो देखिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालदेखि नै ढुङ्गेधारा अस्तित्वमा आएको पाइन्छ तर त्यसभन्दाअघिको ढुङ्गेधाराको अभिलेख भेटिँदैन ।

ऋद्धि प्रधानले ‘एन्सिएन्ट नेपाल’ मा लेखेको शोधपत्रका अनुसार मानदेवका नाति भारविले सन् ५५० मा हाँडीगाउँमा ढुङ्गेधारा निर्माण गरेका थिए । काठमाडौँ उपत्यकाको वास्तुकलामा विद्यावारिधि गरेका जर्मन नागरिक रेमन्ड ओ. ए. बेकर रिटरस्पकले ‘एन्सिएन्ट नेपाल’ मै लेखेको शोधपत्रका अनुसार पाटनको मङ्गहिटीमा सन् ५७० मा ढुङ्गेधारा बनेको थियो ।

कीर्ति तथा धर्म प्राप्तिका लागि पनि पानी–पँधेरा निर्माण गर्ने चलन प्राचीनकालदेखि नै कायम रहेको देखिन्छ । ‘प्राचीन नेपाल’ मा प्रकाशित आफ्नो शोधपत्रमा प्रकाश दर्नालले इतिहासकार धनवज्र वज्राचार्यले हाँडीगाउँ र मङ्गलबजारको अभिलेख अध्ययन गर्दा लिच्छविकालमा कीर्ति कायम गर्न पाटी, पौवा, धर्मशाला, धारा बनाउने चलन रहेको फेला पारेको उल्लेख गरेका छन् । अहिले पनि कतिपय धर्मात्माले यदाकदा धारा–पँधेरा निर्माण गर्ने तथा पुराना पानी–पँधेरा मर्मत–सम्भार गर्ने गरेको पाइन्छ ।

नेपालमा ढुङ्गेधाराको परम्परा निकै समृद्ध देखिन्छ । त्यसमा पनि काठमाडौँ उपत्यकाका ढुङ्गेधारा विशेष उल्लेखनीय मानिन्छ । उपत्यकाका ढुङ्गेधारामा पर्याप्त आफ्नोपन रहेकाले कतिपयले यसलाई नेपालको मौलिक परम्परा मान्ने गरेका छन् । काठमाडौँ उपत्यकाका कतिपय ढुङ्गेधारा तामा, ढलोट र पित्तल जडित छन् । कतिपय ढुङ्गेधारामा सुनको जलप लगाइएको पाइन्छ । यस्ता धारा सुनधारा नामबाट परिचित छन् ।

कतिपय ढुङ्गेधारामा गोही मूर्ति जडित छन् । शास्त्रमा गङ्गाको वाहन गोही मानिएकाले ढुङ्गेधारामा यस्तो आकृति बनाइएको हुनु पर्छ । कतिपय धारामा सूर्यवंशी राजा दिलीपका पुत्र भगीरथको मूर्ति राखिएको छ । भगीरथले गङ्गालाई धर्तीमा ल्याउन अविश्रान्त प्रयत्न गरेको पौराणिक कथा छ । यही आधारमा कसैले कुनै काम फत्ते गर्न अटुट तथा अविश्रान्त प्रयत्न गरेमा त्यसलाई ‘भगीरथ प्रयत्न’ भन्ने चलन छ ।

यी सबै दृष्टिले काठमाडौँ उपत्यकाका ढुङ्गेधारा कुनै पनि अर्थमा चानचुने छैन भन्ने देखिन्छ । यसको वैज्ञानिकता, कलात्मकता, भव्यता तथा सांस्कृतिक वैभवबारे बेग्लै अध्ययन गर्न सकिन्छ । यसबारे थुप्रै स्वदेशी तथा विदेशी अध्येताले अध्ययन पनि गरिसकेका छन् । ढुङ्गेधारालाई स्थानीय स्रोत, साधन र सीप उपयोगको बेजोड नमूना मान्न सकिन्छ ।‘वल्र्ड मोन्युमन्टस् फन्ड’ को वेबसाइटमा प्रकाशित एक सामग्रीका अनुसार उपत्यकाका ढुङ्गेधाराबाट प्रतिदिन ३० लाख लिटर पानी उपलब्ध हुन्छ ।

अहिले आएर पुर्खाको बहुमूल्य विरासतका रूपमा रहेका ढुङ्गेधाराको उचित संरक्षण हुन सकेको छैन । अन्धाधुन्ध र विवेकहीन निर्माण कार्यले पानीको प्रवाह–मार्ग रोकिन गई कैयौँ ढुङ्गेधारा स्वयम् काकाकुल हुन पुगेका छन् । एक समाचार अनुसार काठमाडौँ उपत्यकाभित्र तीन सय ९४ ढुङ्गेधारा फेला परेका छन् । तीमध्ये दुई सय २९ बाट निरन्तर पानी आइरहेको छ । ६२ वटा ढुङ्गेधारा सुकिसकेका छन् । यसैगरी ५७ वटा ढुङ्गेधारा पुरिइसकेको देखिन्छ ।

पानी–पँधेरा हाम्रो मौलिक जीवनधारा हो । यसमा सामाजिक अन्तरघुलन आध्यात्मिक पद्धति, तिर्खा व्यवस्थापन र प्रकृति संरक्षण सूक्ष्मतम् अवयवहरू लुकेका छन् । पानी–पँधेरामा हाम्रो मौलिक जीवनशैली, ग्रामीण सौन्दर्य र आफ्नोपन पनि छचल्किएका छन्, जससँग नेपाली मन र मुटुले मितेरी गाँस्छन् । नेपाली मन र मुटुले हाम्रो सांस्कृतिक पहिचानका रूपमा पानी–पँधरोप्रति स्नेहभाव प्रकट गर्छन् । यही साझा भावना राष्ट्रकवि माधव घिमिरेका गीतमा झल्कन्छ :

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो,

हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो

हाम्रो मन र मुटुसँग साइनो गाँसिएको मौलिक पानी–पँधेरो क्रमिक रूपमा पतनको सँघारतिर उन्मुख हुँदैछ । विवेकहीन डोजर संस्कृति, बसाइँसराइ, गाउँ गाउँमा सडक विस्तार, बदलिँदो जीवनशैली, शहरीकरण आदिले पानी–पँधेरो निरन्तर लोप हुने क्रममा छ ।

पँधेरा नै तीर्थस्थल

पँधेरा हामीले नचिनेको वा वास्ता नगरेको तीर्थस्थल हो । पँधेराको महत्व अवर्णनीय छ । देवकर्म तथा धार्मिक अनुष्ठानमा विभिन्न चर्चित तीर्थस्थलको पानी चढाउने गरिन्छ । त्यसो गर्न सम्भव नभए सर्वसुलभ किसिमले उपलब्ध पँधेराको पानीलाई तीर्थस्थलको पानी ठानेर अर्पण गर्ने चलन छ ।

हामीकहाँ पनि गङ्गा वा जलाशयमा नुहाउँदा पुण्य मिल्छ भन्ने लोकविश्वास छ । यस्ता गङ्गा वा जलाशयमा नुहाउन सधैँ सम्भव हुँदैन । यस्तो अवस्थामा स्थानीय धारा–पँधेरालाई नै गङ्गा सम्झेर विशाल जलाशयको अभावपूर्ति गर्ने चलन छ । स्थानीय धारा–पँधेरामा नुहाउँदा त्यसलाई गङ्गा सम्भेर ‘हरहर गङ्गे’ भनी पुकार्ने चलन हामीकहाँ छँदैछ ।

कात्तिक र माघ महिनामा जलाशयमा नुहाउँदा पुण्य मिल्ने हिन्दु शास्त्रमा व्याख्या गरिएको पाइन्छ । माघेसङ्क्रान्तिमा कुनै प्रख्यात जलाशयमा नुहाउन नपाए स्थानीय पँधेरालाई लोकप्रसिद्ध जलाशय ठानेर नुहाउने चलन नयाँ होइन । माघेसङ्क्रान्तिमा थारू, मगरलगायतका जनजाति समुदायले पनि स्थानीय जलाशयमा नुहाउने र जातीय रीतिथिति अनुसार उत्सव मनाउने चलन कायमै छ ।

विभिन्न धार्मिक तथा आध्यात्मिक अनुष्ठान सम्पन्न भएपछि त्यसमा प्रयोग भएका फूल तथा अन्य वनस्पति पँधेरामा सेलाउने कार्य गरिन्छ । दाहसंस्कार सम्पन्न भएपछि नजिकको पँधेरामा नुहाउने चलन पुरानै हो । पँधेरा केवल जलाशय होइन, मानव जीवनको व्यावहारिक तीर्थस्थल पनि हो ।

स्नान–थेरापी

स्वास्थ्यका दृष्टिले स्नानको उच्च महत्व त छँदैछ, धार्मिक तथा आध्यात्मिक दृष्टिले पनि यसको महत्वपूर्ण स्थान छ । हिन्दु, इसाई,  बौद्ध, जैन, इस्लामलगायत विश्वका प्रमुख धर्ममा नुहाएर शरीर शुद्धीकरण गर्ने कार्यलाई महìव दिएको पाइन्छ । विभिन्न धार्मिक अनुष्ठान सुरु हुनुभन्दाअघि नुहाएर शरीर तथा आत्मा शुद्ध पार्ने चलन कायमै छ ।

मुक्तिनाथको १०८ धारामा नुहाए पुण्य मिल्छ भन्ने मान्यताबाट प्रेरित भएर प्रत्येक वर्ष थुप्रै तीर्थयात्री त्यहाँ नुहाउन जान्छन् । यसैगरी बालाजुको बाइसधारालाई पनि पुण्यस्थल मान्ने गरिन्छ । बाइसधारामा देवघाटलगायतका विभिन्न धार्मिकस्थलबाट पानी प्रवाहित भएर आउने र त्यस प्रकारको पानीले नुहाएमा चर्मरोग निको हुने तथा पुण्य मिल्ने जनश्रुति छ । यसैगरी गोसाइँकुण्ड, मातातीर्थ, गोदावरीस्थित नौधारा, मच्छेनारायणलगायतका धारा तथा कुण्डमा नुहाउँदा पनि पुण्य मिल्ने लोकविश्वास छ ।

डा. साफल्य अमात्यले ‘गरिमा’ (माघ, २०५९) मा ‘लोकसंस्कृति र पानी’ शीर्षक लेख लेखेका छन् । डा. अमात्यले आफ्नो लेखमा टोखाको सपनातीर्थमा स्नान ग¥यो भने कुष्ठरोग निको हुने तथा भक्तपुरको गःछेँ टोलदेखि पूर्वमा अवस्थित गरुडपोखरीमा नुहाए रोगव्याधिले नसताउने जनधारणा रहेको चर्चा गरेका छन् ।

पँधेराका अतिरिक्त तातोपानी कुण्डमा नुहाएमा स्वास्थ्यलाभ हुने वैज्ञानिक तथ्य खुल्दै गएको छ । यसबाट मिल्ने स्वास्थ्यलाभका सम्बन्धमा विभिन्न शोधपत्र, चर्चित जर्नलमा बग्रेल्ती छापिएको पाइन्छ । नेपालका तातोपानी कुण्डमा सल्फर, सल्फेट, म्याग्नेसियम, पोटासियम, सोडियमलगायत विभिन्न खनिज तत्व भेटिएको पाइएको छ । यस्ता खनिज तìवयुक्त तातोपानी कुण्डमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुने विभिन्न अध्ययनले देखाएको छ ।

नेपालमा दार्चुला, जुम्ला, डोल्पा, म्याग्दी, कास्की, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा तातोपानीको स्रोत रहेको पाइएको छ । सन्तमान राई, तारानिधि भट्टराई र दुर्गा खतिवडाले नेपालमा विद्यमान तातोपानीसम्बन्धी शोधपत्र तयार पारेका छन् । त्यस शोधपत्रमा नेपालमा ३५ वटा तातोपानीको स्रोतलाई सूचीकृत गरिएको छ ।

अचेल आधुनिक किसिमले निर्मित पानीको कुण्डमा बसेर बच्चा जन्माउने चलन पनि बढ्दै गएको छ । यसो गर्दा स्वास्थ्यका दृष्टिले आमा र बच्चा दुवैलाई लाभ हुन्छ भन्ने भनाइ छ ।

स्थाननाम

पानी–पँधेरासँग जोडिएका स्थाननाम नेपालको भूगोलभरि बग्रेल्ती भेटिन्छन् । यसले हाम्रो ‘पँधेरो संस्कृति’ को व्यापकता तथा भव्यतालाई दर्शाउँछन् । अर्जुनधारा (झापा), बाघ धारो (कठजोर, रामेछाप), काउरे पँधेरा (मकैस्वाँरा, दुराडाँडा, लमजुङ), घाँसीकुवा (तनहुँ), सातधारा (जिता, लमजुङ), ललाङ पान्धारा (स्याङ्जा), धमिलीकुवा (लमजुङ) जस्ता स्थाननामले पानी–पँधेरासँग जोडिएको लोकजीवनको इतिहास बोल्छन् ।

काठमाडौँ उपत्यकाका ढुङ्गेधारा, सुनधारा, गैरीधारा, सरकारी धारा, कपुरधारा, सुकेधारा, तीनधारा, पान्धारा, बाइसधारा आदिले आफ्नै स्थानीय इतिहासको साक्षी बकिरहेका छन् । नेवार भाषामा धारा जनाउने शब्द ‘हिटी’ जोडिएका स्थाननाम काठमाडौँ उपत्यकामा थुप्रै भेटिन्छन् । जस्तै गाहिटी, ढोलाहिटी, ल्वँहिटी, क्वहिटी, थँहिटी, लुँहिटी, वहहिटी आदि । खोजिपस्ने हो भने यस्ता स्थाननामबाट स्थानीय सामाजिक तथा सांस्कृतिक इतिहासका गतिलै पेटारो खुल्न सक्छ ।

चिसापानी, तातोपानी, धरमपानी, पुरानो धारा, ठूलो पँधेरो, सानो पँधेरो, माथिल्लो पँधेरो, तल्लो पँधेरो, अर्चलाधारा, ढुङ्गेधारा, धारापानी आदि धेरै ठाउँमा भेटिने साझा स्थाननाम हुन् । अन्नपूर्ण सर्किटमा पर्ने मनाङ जिल्लाको एउटा प्रचलित स्थाननाम हो, धारापानी । त्यति मात्र होइन धारापानी साबिकको गाउँ विकास समितिको नाम पनि हो ।

धारासँग नाम जोडिएको काठमाडौँको दरबारमार्गस्थित तीनधारा संस्कृत पाठशालाले बेग्लै राजनीतिक तथा शैक्षिक विरासत बोकेको छ । काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा रहेको झरनाको नाम नै ‘तीनधारा झरना’ ले धारा, पानी र झरनाको कथा भनिरहेको छ ।

हामीकहाँ जातीय समुदायको झल्को दिने धारा–पँधेरा पनि भेटिन्छन् । ठकुरी पँधेरा (म्याग्दी), बाहुन पँधेरा (म्याग्दी), दुरा पँधेरा (खजेगाउँ, दुराडाँडा, लमजुङ) आदि । दलित अनलाइन (२ असार, २०७६) मा प्रकाशित सामग्रीका अनुसार गुल्मीमा ‘बाहुनको पँधेरा’ तथा ‘दमैको पँधेरा’ रहेका छन् । यस्ता जातीय चिनारी झल्कने धारा–पँधेरा तथा स्थाननामले नेपाली समाजको जातीय विविधता तथा श्रेणीकृत सामाजिक संरचनालाई पनि इङ्गित गर्छन् ।


लोक अभिव्यक्ति

‘पँधेरो संस्कृति’ नेपालको समृद्ध परम्परा हो चर्चा अघि नै भइसकेको छ । नेपाली लोकजीवनमा जरो गाडेर बसेको ‘पँधेरो संस्कृति’ लोक अभिव्यक्तिमा नझल्किइरहन कसरी सम्भव होला र ? हाम्रा लोकगीत तथा उखान–टुक्कामा पानी–पँधेरो स्वाभाविक किसिमले प्रतिविम्बित हुने गरेका छन् ।

‘गरिमा’ (माघ २०५९) मा प्रकाशित लेखमा संस्कृतिविद् डा. साफल्य अमात्यले पानी र लोकजीवनको नाता–सम्बन्ध केलाएका छन् । नेपालका विभिन्न जाति तथा समुदायमा प्रचलित पानी–पँधेरासम्बन्धी लोकगीतबारे अमात्यद्वारा चर्चा गरिएको छ । उनले नेवार, तामाङ, मगर, माझी, थारू आदि समुदायमा पानी, धारा वा जलाशयबारे प्रचलित गीतको पनि मीठो वर्णन गरेका छन् । यसैगरी मैथिली तथा भोजपुरी भाषामा प्रचलित पानी तथा धारासम्बन्धी गीतको चर्चा पनि गरेका छन् ।

नेपाली लोकगीतमा पानी–पँधेरोलाई बिर्सने कुरै भएन । ‘पानी–पँधेरो, मायालाई नदेख्दा देउँसै अँधेरो’, ‘पानी खाने तिरतिरे धाराको, बस्यो माया नछुट्ने पाराको’, ‘बालाजुको बाइसै धारा, सम्झी सम्झी लालुमै नरोऊ है पियारा’, ‘पानीको जलधारा, के गरेर तिरुँला खै मैले आमाको दूधभारा’, ‘यति यति पानी, गङ्गैरानी’ जस्ता पानी–पँधेरोको तस्बिर झल्कने गीत लोकस्मृतिमा छन्, जो अझै पनि लोककण्ठमा गुञ्जिने गर्छन् ।

विगतमा पनि केही गाउँठाउँले पानीको चर्को अभाव झेलेको पाइन्छ । त्यतिबेला महिलाहरूले पानी ओसार्न भोग्नुपरेका हैरानी एउटा बेग्लै अध्ययनको विषय हुन सक्छ । कुखुराको पहिलो डाँकोमै उठेर ढिकीजाँतो सकी पानी ओसार्ने काममा छोरी–बुहारी खटिनु पर्दथ्यो भन्ने चर्चा अझै सुन्न पाइन्छ । पँधेर्नीले धेरै टाढाबाट रातबिरात पानी ओसार्नुपर्ने बाध्यतालाई देखेर धर्मराज थापालाई एउटा गीत फुरेछ : ‘बागलुङ बजार, पँधेर्नीका दुःख हजार ।’

लोकगीतका अतिरिक्त उखान–टुक्काहरूमा पनि पानी–पँधेराको प्रसङ्ग नआई छाड्दैन । जस्तै : ‘थोरै थिए पँधेर्नी, धेरै भयो कुरा’, ‘तैँ रानी मै रानी, को भर्ने कुवाको पानी’, ‘पानी न पँधेरो, सधैँ अँध्यारो’ जस्ता उखान–टुक्का जनजिब्रोमा प्रचलित छन् ।

जलाधार संरक्षणको गुनिलो अभ्यास

पानीको मुहानमा जलदेवीको वास हुने लोकमान्यता छ । यही मान्यतालाई शिरोपर गरी पानीको मुहान वा पँधेरामा जलदेवीको पूजाअर्चना गर्ने चलन पनि छ । यति मात्र होइन पानीमा बस्ने माछा, नाग, भ्यागुता आदिको पूजा गरिन्छ । जुन हाम्रो जीवनशैलीको मौलिक रित नै हो । 

भनिरहन परेन मूलको शुद्ध र स्वच्छ पानी स्वस्थकर जीवनयापनका लागि अतिशय उपयोगी मानिन्छ । त्यसैले स्वस्थ रहनका लागि जीवनमा शुद्ध र स्वच्छ पानीको उच्चतम् महìव छ । शुद्ध र स्वच्छ पानीले  विभिन्न पोषक तथा अक्सिजन आपूर्ति गर्छ । यसले शरीरमा अम्लीयपन तथा क्षारीयपन (पीएच लेबल) समायोजन गर्न उल्लेखनीय भूमिका खेलेको पाइन्छ ।

स्वस्थ तन र मनका लागि पानी ताजा पनि आवश्यक छ । उखानै छ ‘पानी खाने मूलको, छोरी ल्याउनु कुलको ।’ लोकजीवनमा बासी पानी खान योग्य मानिँदैन । यही मान्यताबाट निर्देशित भएर गाउँघरमा हरेक दिन गाग्रीको पानी फेर्ने गरिन्छ ।

तर शहरी जीवनमा पानीका मामलामा हामी बहुधा सम्झौतापरस्त हुन पुगेका छौँ । महिनौँ पुरानो जारको पानी पैसा तिरीतिरी खान बाध्य छौँ । स्वच्छ र शुद्ध पानी आवश्यक पर्ने देवकर्म वा पूजाआजामा पनि उही पुरानो जारकै पानी प्रयोग गर्न विवश छौँ ।

हामीकहाँ पानीको मुहान वरिपरिको जमिन शुद्ध राख्ने, त्यहाँ बोटबिरुवा रोप्ने तथा तिनलाई सुरक्षित किसिमले हुर्काउने युगौँ पुरानो चलन छ । पानीको मुहान र धारा वरिपरि लगाइएका रुख–बिरुवाले पानीको मूल सुक्नबाट जोगाउँथे । यसले स्थानीय वातावरण हराभरा बनाउन आफ्नो तर्पmबाट उच्चतम योगदान दिन्थ्यो ।

यही तथ्यलाई आत्मसात् गरेर पँधेरोमा रुख बिरुवा लगाउने विषयलाई विगतमा राजाज्ञामा समेत समावेश गरिएको पाइन्छ । इतिहासकार दिनेशराज पन्तकृत कृतिमा गोरखाको इतिहास (दोस्रो भाग) मा गोरखाका राजा राम शाहले पँधेरोमा वन पाल्न अह्राएको तथा पँधेराको रुख काट्नेबाट पाँच रुपियाँ दण्ड लिने थिति बाँधेको प्रसङ्ग उल्लिखित छ ।

विगतमा पँधेरामुनि पोखरी बनाइन्थ्यो । जहाँ घरपालुवा जनावर तथा अन्य पशुपन्छीको तिर्खा मेट्न सहयोग पुग्थ्यो । पोखरीको पानीलाई आवश्यकता अनुसार कृषिकर्मका लागि प्रयोग गरिन्थ्यो । यसैगरी पानीको स्रोत नभएका सुक्खा डाँडाकाँडामा पोखरी बनाइन्थ्यो, जहाँ वर्षायाममा आकाशबाट परेको पानी सङ्कलन हुन्थ्यो । यस्ता पोखरीले एकातिर पानीको अभावमा काकाकुल बनेका पशुपन्छीको तिर्खा मेटाउन सहयोग गर्थे भने अर्कोतिर जमिनमुनि पानी पुनर्भरण (रिचार्ज) गर्न सघाउँथे । 

यस्ता परम्परागत पोखरीले परोक्ष रूपमा पानीको मुहान रसिलो राख्न धेरथोर मद्दत गर्थे र खडेरीमा पानीको सङ्कट टार्न सघाउँथे । अचेल भएका पोखरी पनि मासिने क्रममा तीव्रता देखिन्छ । यसले पनि कुनै न कुनै रूपमा पानीको स्रोत सुक्न सहयोग गरेको छ ।

यस प्रकारका परम्परागत धारा तथा पोखरीबाट मानिस र प्रकृतिबीच सुसम्बन्ध कायम गर्ने असल चक्र निर्माण हुन्थ्यो । यसले अघोषित रूपमा स्थानीय ‘जलाधार व्यवस्थापन’ लाई सघाउँथ्यो । अहिले विकासका नाममा भएका विचारहीन गतिविधिले त्यो असल चक्र क्रमिक रूपमा भङ्ग हुँदै गएको छ । विकासका नाममा भित्रिएको ‘बुल्डोजर संस्कृति’ ले पानी–पँधेरा, पोखरी तथा चौतारीहरूलाई निष्फिक्री किसिमले नाश गरेर कङक्रिट संरचना तयार पार्नु नै बहादुरी हुन गएको छ ।


नजानिँदो संवादहीनता

‘पँधेरो संस्कृति’ विस्तारै मर्दैछ । हिजोका दिनमा पँधेरो सामाजिक जमघट र संवादको उर्वर थलो थियो । पानी भर्न, नुहाउन तथा लुगा धुन सबैजना पँधेरा जान्थे । यसले छिमेकीसँग भेटवार्ता गर्ने अवसर जुराउँथ्यो । जसले पँधेर्नी तथा अन्य ग्रामीणजनबीच विचार विनिमय गर्ने अवसर जुराउँथ्यो । त्यो सानो अवसर थिएन ।

यस प्रकारको सामाजिक अन्तरघुलनबाट छरछिमेकको क्षण–क्षणको जानकारी मिल्थ्यो । जसबाट छरछिमेकीका सुखदुःख सजिलै थाहा हुन्थ्यो । पँधेरो अघोषित गाउँ सभा नै थियो । पँधेरामा भएको वार्तालापले घर घरको मनोविज्ञान बुझ्न सहज हुन्थ्यो । यसले गाउँको भावी कार्यनीतिलाई प्रत्यक्ष वा परोक्ष रूपमा दिशानिर्देश गथ्र्यो । यस अर्थमा पँधेरो अघोषित ग्रामीण सञ्चार केन्द्र थियो ।

अचेल शहरमा त के कुरा गाउँघरमा पनि घरभित्रै धारा, स्नान कक्ष तथा वासिङ मेसिन जडान हुन थालेका छन् । परिणामस्वरूप विचार विनिमयको साझा थलो बनेको पानी–पधेँरा बिरानो बन्दै गएको छ । यसबाट समाजमा नजानिँदो किसिमले संवादहीनता बढेर गएको छ । जुन सामाजिक उन्नयनका दृष्टिले निकै घातक छ ।


चुनौतीको पहाड

गाउँ छाडेर शहरतिर बसाइ गर्ने प्रवृत्ति तीव्र गतिमा बढेकाले गाउँमा निर्जनीकरण बढेर गएको छ । यसबाट एकातिर चालु अवस्थामा रहेका धारा, पँधेरा तथा कुवाहरू उपयोगविहीन बन्न पुगेका छन् भने अर्कोतिर नवशहरियाहरूलाई पानीको व्यवस्था गर्नुपर्ने खाँचो बढेको छ । बढ्दो शहरी जनसङ्ख्यालाई पानीको व्यवस्था गर्ने कार्य आर्थिक तथा वातावरणीय दृष्टिले महँगो बन्न पुगेको छ ।

केही दशकयता नेपालमा शहरीकरणमा तीव्रता आएको छ । एक तथ्याङ्क अनुसार सन् १९५२ तिर नेपालमा केवल २.९ प्रतिशत जनसङ्ख्या शहरमा बस्थे । सन् २००१ मा शहरमा बस्नेहरूको दर १३.९ प्रतिशत पुग्यो भने सन् २०१४ मा यो दर बढेर २७.२ प्रतिशत पुग्यो ।

शहरिया जनसङ्ख्याको वृद्धिसँगै नेपालमा पानीको सङ्कट गहिरिँदै गएको देखिन्छ । शहरको बढ्दो जनसङ्ख्यालाई भू–सतहमा उपलब्ध पानी अपर्याप्त भई भूमिगत पानी अत्यधिक मात्रामा दोहन गरिँदै आएको छ । यसबाट भूमिगत पानीको जलभण्डार (वाटर टेबल) असन्तुलित हुन गई थप समस्या पैदा भएको रिपोर्ट आइरहेका छन् ।

नेपालले पानी वितरणमा उल्लेखनीय प्रगति गरिरहेको प्रगति विवरण आइरहँदा तराईका कतिपय ट्युबवेलमा पानी नआएको, पहाडमा पनि पानीका लागि भौतारिनु परेको समस्याबारे समाचारले बेग्लै अवस्था बयान गरिरहेको छ । अहिले जमिनमुनि राम्ररी पानी पुर्नभरण हुन सकिरहेको छैन ।

ठाउँ ठाउँमा ठूला ठूला कङ्व्रिmट संरचना बनेपछि वर्षाको पानी जमिनमुनि सोसिन पाएको छैन । आधुनिक घर, सडक तथा अन्य मेगा संरचना यसका लागि जिम्मेवार छन् । शहरी क्षेत्रका ढललाई पनि यसमा जिम्मेवार मान्न सकिन्छ । पहिले घरेलु प्रयोगका पानी खेतबारीका गरा, पाखा तथा अन्य खुला ठाउँमा छाडिन्थ्यो । अहिले ढलमार्पmत सिधै खोलामा पु¥याइएको छ । यसबाट एकातिर जमिन रिचार्ज हुने व्रmम सुस्ताएको छ भने अर्कोतिर खोलानाला प्रदूषित हुने दर बढेको छ ।

यतिबेला पानी मुहान सुक्ने समस्या पनि बढेर गएको देखिन्छ । भूमिका थापा, चिरञ्जीवी भट्टराई, ङमिन्द्र दाहाल, सुषमा तिवारी र डिन जेकोब्सनले तयार पारेको एक शोधपत्रमा ७४ प्रतिशत स्थानीय तहमा पानीका मूल सुक्ने र ५८ प्रतिशत मूल सर्ने समस्या उत्पन्न भएको देखाएको छ । त्यसमध्ये सबैभन्दा बढी चुरे क्षेत्रमा ७९ प्रतिशत मुहान सुक्ने समस्या रहेको छ । यसैगरी हिमाली क्षेत्रमा ६४ प्रतिशत र पहाडी क्षेत्रमा ४६ प्रतिशत पानीका मुहान सुक्ने समस्या देखिएको छ ।

पानीको मूल सुक्नुका पछाडि विभिन्न पक्ष जिम्मेवार छन् । अध्ययनबाट प्राप्त नतिजा अनुसार पानीको मूल सुक्नुमा सडक तथा संरचना ५१ प्रतिशत, भूकम्प ४६ प्रतिशत, जलवायु परिवर्तन ४५ प्रतिशत, वन फँडानी ३२ प्रतिशत तथा बाढीपहिरो ३० प्रतिशत जिम्मेवार देखिएको छ । पानीको मूल सुक्नाले खानेपानीमा ७६ प्रतिशत, सिँचाइमा ५० प्रतिशत, सरसफाइमा ३६ प्रतिशत तथा पशुपालनमा ३५ प्रतिशत समस्या थएिको छ । पानीको मूल सुक्नाले ७ प्रतिशत मानिस मौलिक थलोबाट विस्थापित भएको पाइएको छ ।

पानी अर्थतन्त्र

परम्परागत मान्यता अनुसार पानी कुनै व्यापारिक वस्तु होइन । पानी निःशुल्क वितरण गरिने वा हुनु पर्ने वस्तु हो । परम्परागत मान्यता अनुसार पानी बेच्नु अधर्म मानिन्छ । कुनै तिर्खाएको व्यक्तिलाई हरतरहले प्यास मेटाउने वातावरण बनाउनु धार्मिक दृष्टिले उच्चतम मानवीय दायित्व मानिन्छ । यही मूलमन्त्रलाई आत्मसात् गरी विगतमा चौतारीमा पानीको घडा र लोटा राखिएका हुन्थे । पाटीपौवामा पौशाला खडा गरिएका हुन्थे ।

अहिले ‘उहिलेका कुरा खुइलिए’ भने जस्तो हुन गएको छ । हिजोका दिनमा धर्म कमाउने वस्तु मानिएको पानी अहिले व्यापारिक वस्तु हुन पुगेको छ । पानी व्यवसायीले कार्टेलिङ गर्दै ग्राहकको थाप्लोमा अनावश्यक आर्थिक भार थप्ने गरी पानीको भाउ बढाउन तल्लीन भइरहेको समाचार पनि आइरहन्छ । यति मात्र होइन मुट्ठीभर शक्तिशाली खेलाडीले पानीको मुहान कब्जा गरेर पानी जस्तो निःशुल्क रूपमा उपलब्ध हुने प्राकृतिक स्रोतलाई बेचेर कमाउने धन्दा चलिरहेको खबर पनि आइरहेका छन् ।

विगतमा धर्मात्माहरूले खडा गरेका पौशाला तथा ‘धर्मघडा’ बिरानो बनिसकेको छ । अहिले पौशाला तथा ‘धर्मघडा’ को ठाउँ पानीका व्यापारिक ट्याङ्करले लिएका छन् । विगतमा वैशाख अक्षय तृतीयाका दिन ‘धर्मघडा’ राखिएको चौतारीमा खुदोपानी, जौको सातु खुवाउने चलन थियो । अहिले यी सबै लोकहितैषी गतिविधि पुँजीवादको छायामा परिसकेको छ ।

उपसंहार

पँधेरो केवल पानीशाला मात्र नभई आफैँमा एउटा जनोपयोगी शास्त्र पनि हो । यसले प्रकृतिसँग मित्रवत् व्यवहार गरी सफा र स्वच्छ पानी उपयोग गर्न सिकाउँछ । नेपालमा पँधेरोशास्त्रको अभ्यास सयौँ  वर्षअघिदेखि हुँदै आएको पाइन्छ । विकासका नाममा लाखौँ डलर खर्च गर्ने आधुनिक विकास परियोजनाले गर्न नसकेको पानीको आपूर्ति परम्परागत पानी–पँधेरोले गर्दै आएका छन् ।

विकास परियोजनाको कमजोरीको दृष्टान्तका रूपमा बहुचर्चित मेलम्ची खानेपानी परियोजनालाई लिन सकिन्छ । यस परियोजनाले निलेको समय र धनलाई नियाल्दा पँधेरोशास्त्रको औचित्य झन् बढेर गएको छ । पँधेरोशास्त्रले तिर्खा व्यवस्थापन र जलाधार व्यवस्थापनका पक्षमा लोकहितैषी पाठ सिकाएको छ । काठमाडौँ उपत्यकाको वैभवशाली ढुङ्गेधारा पँधेरोशास्त्रको जिउँदो–जाग्दो दृष्टान्त हो ।   

Author

यमबहादुर दुरा