• १२ साउन २०८१, शनिबार

पर्यटकका लागि कृत्रिम ताल बनाउँदै व्यास नगरपालिका

blog

ताल निर्माण गर्न लागिएको क्षेत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १० गते ।
तनहुँको व्यास नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वडा नम्बर १० को दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरिरहेको छ ।  व्यास नगरपालिकालाई पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउन कृत्रिम ताल बनाउने कार्य अघि बढाइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । 

नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘फरकपनले पर्यटकलाई आनन्द प्रदान गरी उनीहरुको बसाइ लम्बाई स्थानीयलाई आम्दानी र रोजगारी दिनको लागि कृत्रिम ताल निर्माणलाई तिब्र परेका छौं ।’’

गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो । कृत्रिम ताल सिँचाइ, मस्त्यपालन लगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ । ताल निर्माणका लागि बाँध बनाउने काम भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुसार ताल निर्माणका लागि व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख र गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत १० लाख रुपियाँ विनियोजन भएको छ । नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको छ ।

जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी पाँच लाख ५० हजारका दरले र दोयमलाई प्रति रोपनी पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ । ताल निर्माणका लागि करिब चार करोड बजेट लाग्ने अनुमान छ । ताल निर्माणका लागि एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । ताल निर्माणको ठेक्का जिएस निर्माण सेवाले पाएको छ । तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने छ । तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहने र कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ । आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव ८५ (जगमा) देखि एक दशमलव ५० मिटर (टुप्पोमा) रहनेछ ।

तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहनेछ । निर्वतमान वडाध्यक्ष तुलसीराम सापकोटाले रमणीय स्थान भएकाले पर्यटक भुलाउन सजिलो हुने भएकाले ताल निर्माणको काम सुरु गरिएको जानकारी दिनुभयो । सापकोटाले भन्नुभयो, ‘‘दुम्सीचौर यस आसपासको क्षेत्रबाट चारैतिर हरियाली, सुन्दर फाँटहरु, हिमाल जस्ता मनमोहक दृश्य देखिन्छ ताल निर्माणले सुनमा सुगन्ध थपिने विश्वास लिएका छौं ।’’ पर्यटकलाई घरवासको व्यवस्था मिलाई सकेको उहाँले जानकारी दिनुभयो ।