• २५ वैशाख २०८१, मङ्गलबार

रामधुनी जाने सडक स्तरोन्नति

blog

रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, वैशाख ९ गते । पूर्वकै धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडकको स्तरोन्नतिको काम थालिएको छ । झुम्का सिङ्गीया लालपुर हुँदै रामधुनी मन्दिर पुग्ने सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो । 

कोशी प्रदेश सरकारको ३० लाख र सङ्घीय सरकारको ५० लाख बजेटबाट सडकको स्तरोन्नतिका काम सुरु गरिएको छ । झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्टाखुल्टी परेर बिग्रिदा मन्दिरमा आउने तीर्थयात्री र स्थानीयहरुलाई समस्या हुने गरेको थियो । 

रामधुनी नगरपालिकाले आफ्नो आन्तरिक स्राेतको एक करोड ५० लाख बजेट छुट्याए पनि ठेक्कामार्फत १ करोड १४ लाख ५३ हजार १ सय ८४ रुपियाँ दश पैसाबाट रामधुनी ४ को बैठार चौकदेखि १८ सय ५० मिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको वडा नम्वर ४ का वडाध्यक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार रामधुनी मन्दिर जोड्ने लक्ष्यका साथ सडक कालोपत्रे गर्ने काम ठेक्कामार्फत सुरु भएको छ । क्रमागत योजनाबाट सडकको कामलाई सुरु गरेका छाैं । आगामी आर्थिक वर्षको बजेटमार्फत रामधुनी मन्दिरसम्म बिग्रिएको सडक कालोपत्रे गरिनेछ । 

अहिले बन्ने सडकको बेस साढे चार मिटर र कालोपत्रे चार मिटरको हुने वडाध्यक्ष कार्कीले बताउनुभयो । सडकको बेसको थिकनेस चार सेन्टिमिटर हुने बताइएको छ । 

सडकको ठेक्का अमाह जलकन्या कन्स्ट्रक्सन प्रालि वराहक्षेत्र ५, सुनसरीले ठेक्का पारेर सडकको काम गर्दै आएको छ । सडक २०८० चैत २१ गते काम सुरु गरेर २०८१ असार १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको रामधुनी नगरपालिकाले जनाएको छ । 

रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार रामधुनी मन्दिरमा आउने बाटो बिग्रिँदा दर्शन गर्न आउने आन्तरिक र बाह्य तीर्थयात्रीहरुलाई समस्या हुने गरेको थियो । प्रकाशपुर, राजावास, सालवनी, इक्राइका स्थानीयहरुलाई पूर्व पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दूरीको सडकको स्तरोन्नति नहुँदा तीर्थयात्री र स्थानीयहरुलाई समस्या हुने गरेको थियो । 

रामधुनी मन्दिर आफ्नै किसिमको महत्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रुपमा परिचित रहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्याक्ष रामप्रकाश कोइरालाले बताउनुभयो ।