नवराज कट्टेल
विराटनगर, माघ २० गते । दुई महिनाअघिसम्म एक लिटर सूर्यमुखी तेलको खुद्रा विक्रेता मूल्य २३५ रुपियाँ प्रतिलिटर थियो । बजारमा अहिले प्रतिलिटर मूल्य २६० देखि २६२ पुगेको छ । सूर्यमुखी मात्रै नभई तोरीको तेलको मूल्यमा समेत अहिले प्रतिलिटर ३० रुपियाँ वृद्धि भएको छ ।
निर्वाचनका बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा खुला सीमानाकाबाट हुन सक्ने अवैध व्यापारले थप मारमा भने उद्योगीले पर्नु परेको गुनासो गरेका छन् । बागमती आयलका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका राजस्व परामर्श समिति संयोजक देवकीनन्दन अग्रवालका अनुसार एकै पटक दोहोरो मारको चपेटामा उद्योगी पर्नु परेको हो । दोहोरो मार भनेको अमेरिकी डलरमा भइरहेको वृद्धि र खुला सीमानाकाबाट हुन सक्ने अवैध चोरीपैठारी र निकासी हो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा भटमासको कच्चा तेल टनको एक हजार २६० डलर छ । यस्तै सूर्यमुखीको कच्चा तेलको मूल्य एक हजार चार सय डलरभन्दा माथि पुगेको छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष एवं प्रिमियर वायरका सञ्चालक पवन शारडाले दैनिक उपभोग्य वस्तु मात्रै नभई स्टिल तथा फलाम र प्लास्टिकका उत्पादनमा समेत अहिले डलरमा भइरहेको वृद्धिको प्रभाव परेको छ । दैनिक उपभोग्य वस्तुका हकमा भारतको नयाँ बजेटले वस्तु तथा सेवा (जिएसटी) मा थप लचकता अपनाउने प्रावधानको प्रभाव अझै पर्ने उहाँको दाबी छ । शारडाका अनुसार वस्तु आयाल गर्दा कर्जासमेत डलरमै लिनुपर्ने स्थिति रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य थपघट हुँदा यहाँ आत्तिनुबाहेक अर्को विकल्प नरहेको उहाँको बुझाइ छ । अहिले दैनिक जसो वृद्धि भइरहेको अमेरिकी डलरको प्रभाव औद्योगिक क्षेत्रमा भित्रिइसकेको बताउनुभयो । यस्तो प्रभाव भित्रिइरहेका बेला समयभन्दा अगाडिको निर्वाचनले थप जटिलता निम्त्याएको उद्योगी शारडाको दाबी छ ।
अमेरिकी डलरमा पछिल्लो समय भइरहेको मूल्यवृद्धिले उद्योगका लागि कच्चा पदार्थ ल्याउन सहज छैन । खास गरी तेलका लागि आयात हुने कच्चा क्रुड युक्रेनबाट ल्याउन समस्या भएको उद्योगी बताउँछन् । अर्जेन्टिनासँग भर पर्नुपर्ने पैठारीकर्ताका लागि त्यसै पनि महँगो परिरहेको अग्रवालको भनाइ छ ।
उद्योगीले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा त्यसले उद्योगमा लागत बढेको बताएका छन् । उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष राकेश सुरानाले वस्तु पैठारी गर्नसमेत डर मान्नुपर्ने स्थिति रहेको सुनाउनुभयो । आफैसँग कच्चा पदार्थ नभएपछि आयातित कच्चा पदार्थमा आधारित उद्योगका उत्पादनको मूल्य अन्तर्राष्ट्रियस्तरमा भइरहेका घटनाक्रमले प्रभावित बनाउने स्थिति रहनु सामान्य रहेको सुरानाको भनाइ थियो ।
अमेरिकी डलरको मूल्यवृद्धिले कच्चा पदार्थमा मात्रै बढेको मूल्य बुझाउनुपर्ने स्थितिमा उद्योगी नभएको उनीहरू सुनाउँछन् । नेपालको भन्सार विन्दुमा प्रवेश गरेपछि मूल्य अभिवृद्धि कर, महसुल, ढुवानी, बिमाको प्रिमियममा समेत प्रभाव पार्ने गर्दछ । यसले लागत त बढाउँछ तर बजारमा मूल्यवृद्धि गरेर वस्तु पठाउने स्थिति पनि नभएको उनीहरूको गुनासो छ ।
उद्योगको लागत बढ्दा पनि वस्तुको मूल्य बढाउने कि नबढाउने अवस्थामा रहनु परेको परिसङ्घ कोशीका अध्यक्ष शारडाको भनाइ छ । “समयअगाडिको निर्वाचनले बजारमा मन्दी छ, पुँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान छैन,” शारडाले भन्नुभयो, “विदेशी मुद्राको सञ्चिति सकारात्मक देखिए पनि बजार चलायमान नहुँदा त्यसको असर दीर्घकालीन पर्न सक्छ । निर्वाचन गराउन गठन भएको सरकारले पनि नीतिगत असजिलामा सम्बोधन गर्ने बाटो चाहिँ राख्नुपर्ने हो ” उहाँले भन्नुभयो, “भारतमा जिएसटीमा लचक हुने प्रावधान कार्यान्वयन हुनेबित्तिकै नेपालको सीमामा अवैध व्यापारको लाइन बढ्छ, त्यसलाई कसरी नियन्त्रण गर्ने ?” उहाँको सुझाव अनुसार दैनिक उपभोग्य वस्तुको भन्सार दरमा नेपाल सरकारले परिवर्तन गर्ने कुरा अध्ययन थालिहाल्नु पर्छ । शारडाले अहिले वस्तु उत्पादन कम गर्ने र बजारको आवश्यकता थामेर बस्ने स्थिति मात्रै रहेको बताउनुभयो ।