शशिधर पराजुली
विराटनगर, माघ २० गते । प्रदेशसभा सचिवालयले आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्न विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र सभागृह भाडामा लिएको छ । आगामी ६ महिनाका लागि प्रदेशसभा सचिवालयले सभागृह भाडामा लिएको हो ।
कोशी प्रदेशसभा सचिवालय र सभाहल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरी सम्पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो । त्यसपछि विराटनगर नजिकै रहेको कटहरी गाउँपालिका १ स्थित तरकारी तथा फलफूल थोक बजारको भवनमा सचिवालय स्थानान्तरण गरिएको छ । यस अवधिमा प्रदेशसभा सञ्चालन गर्न आवश्यक सभाहल निर्माण भएको छैन । त्यसैले सचिवालयले महानगरपालिकासँग मासिक ८ लाख रुपियाँ भाडा तिर्ने गरी ६ महिनाका लागि सभाहल भाडामा लिने सम्झौता आइतबार भएको हो ।
सम्झौताअनुसार सचिवालयले महानगरलाई मासिक ८ लाख रुपियाँ (बहाल करसहित) भाडा बुझाउने छ । माघ १८ देखि आगामी साउन १७ गतेसम्मका लागि गरिएको सम्झौता पत्रमा सचिवालयका सचिव सुदर्शन खड्का र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले हस्ताक्षर गर्नुभएको छ । विद्युत् र खानेपानीको महसुल पनि सचिवालयले नै व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
प्रदेश मन्त्रिपरिषद्को गत १५ माघको बैठकले आगामी २५ माघ दिउँसो २ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । अधिवेशन आह्वान गर्ने निर्णय भएको तीन दिनपछि मात्र सरकारले भवनका लागि महानगरसँग औपचारिक सम्झौता गरेको हो ।