काठमाडौँ, माघ २० गते । नेपाली राजनीतिलाई नवीन रूपान्तरण र अग्रगामी दिशा प्रदान गर्ने राजनीतिज्ञलाई संसद्मा पुर्याएको काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे बहस आरम्भ भएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै सर्वोच्च अदालत र सङ्घीय संसद् भएको काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवारका मुद्दालाई केन्द्रमा राखेर विमर्श थालनी भएको हो ।
सङ्घीय संसद् भवननजिकै कुनै बेला नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी) को चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ अर्थात् ‘लक्ष्मी दिदीको चिया पसल’ छेउमा खुलेका थुप्रै चिया खाजा पसलमा हुने ‘चियागफ’ निर्वाचन केन्द्रित हुन्छन् । पूर्वप्रधानमन्त्री भट्टराई र व्यवसायी लक्ष्मी थापामगर बितिसक्नुभयो ।
तर राजनीतिक विमर्शको थलोका रूपमा परिचित बानेश्वरमा दिनहुँ निर्वाचनका मुद्दामा छलफल हुन्छन् । काठमाडौँ महानगरपालिका वडा नं. १० निवासी ६२ वर्षीय इन्दिरा सापकोटाले १८ वर्षदेखि मतदान गरिरहेको काठमाडौँ क्षेत्र नं. १ लाई देशको सबै पक्षमा सुधार गर्ने ठाउँकै रूपमा लिनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेताहरू नारायणप्रसाद ढकाल, प्रदीप नेपाल, कांग्रेसका संस्थापक एवं लौहपुरुष गणेशमान सिंहका पुत्र एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई जिताएर संसदमा पठाएका काठमाडौँ क्षेत्र नं. १ का मतदानलाई फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न सजिलो छैन । उहाँका अनुसार नयाँ उम्मेदवार भएको र निर्वाचनका मुद्दा प्रस्ट भई नसकेकाले कसलाई मत दिने भन्ने अहिल्यै निश्चित भएको छैन ।
स्थानीय सामाजिक अगुवा सापकोटाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएर संसद्मा पुग्ने उम्मेदवारले जनजीविकाका सवालमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो सर्त सुरक्षा हो । सबैले सुरक्षित भएर बाँच्न पाउनु पर्छ । अहिले बजारभाउ धेरै महँगो छ, जसले गर्दा सामान्य मानिसलाई जीवनयापन गर्न गाह्रो भएको छ । नागरिकको चुलो सस्तो हुनु पर्छ । २०४६ को परिवर्तनपछि अहिलेसम्म हाम्रो माग यही नै हो ।”
स्थानीयवासी सापकोटाले गाउँबाट काठमाडौँ, काठमाडौँबाट विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न आफ्ना जनप्रतिनिधिले कानुन निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यति मात्रै होइन, उहाँले शुद्ध खानपानका लागि काठमाडौँका उपभोक्ताले विषादी नहालेको तरकारी र खाद्यान्न उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
‘व्यावसायिक वातावरण होस्’
काठमाडौँ वडा नं. २९ मैतीदेवी निवासी चन्द्रलक्ष्मी श्रेष्ठले व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणका लागि सांसद र राज्यले पहलकदमी लिनुपर्ने बताउनुभयो । उहाँ जस्तै काठमाडौँको बानेश्वरमा व्यवसाय गर्ने प्रकाश रायमाझी पनि अब बन्ने सरकारबाट व्यावसायिक वातावरणको अपेक्षा राख्नुहुन्छ । व्यवसायी श्रेष्ठले कोभिड–१९ पछि पुनः उठ्न नसकेको व्यवसायलाई अघि बढाउन सरकारले योजनाबद्ध कार्यक्रम ल्याओस् भन्ने अपेक्षा छ ।
व्यवसायी रायमाझीले संसद्मार्फत सार्वजनिक सेवासम्बन्धी कानुन बनाएर तिनै तहका सरकारको समन्वयमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्ने, विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने र मोटरसाइकलको सङ्ख्या घटाउनुपर्ने, फुटपाथमा जथाभाबी पसल राख्ने कार्य बन्द गरेर व्यावसायिक प्रतिष्ठान सहज सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय संसद् सदस्यले कानुन निर्माण गर्ने हो । त्यसैले कानुन निर्माणमा सहजीकरण गरेर राज्यका निकायको सेवा प्रवाह प्रभावकारी बनाइदिए पुग्छ ।”
‘सम्पदा र खुला ठाउँ संरक्षण’
काठमाडौँ क्षेत्र नं. १ मा रहेका मठमन्दिरसहित सांस्कृतिक एवं धार्मिक पक्षसँग जोडिएका स्थलको संरक्षण र खुला ठाउँलाई व्यवस्थित गरेर सार्वजनिक बगैँचा निर्माण गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।
व्यवसायी चन्द्रलक्ष्मी श्रेष्ठ र सामाजिक अगुवा इन्दिरा सापकोटाले सांस्कृतिक सम्पदा जोगाउने र सार्वजनिक जग्गाको संरक्षण गरेर खुला चौर, बगैँचा बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । व्यवसायी श्रेष्ठले काठमाडौँमै जन्मेहुर्केका स्थानीयले अहिले बिहान बेलुका हिँड्ने ठाउँ पनि नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सफा र हराभरा सहर हुनु पर्छ । काठमाडौँ सफा, खुला, धुवाँधुलोरहित र हरियालीयुक्त हुनु पर्छ । मठमन्दिरसहित धार्मिक स्थलको संरक्षण गर्नु पर्छ र यहाँको मौलिक पक्ष जोगाउनु पर्छ ।” सामाजिक अगुवा सापकोटाले पनि बालबालिका खेल्ने र ज्येष्ठ नागरिक हिँड्ने ठाउँको अभाव रहेकाले सार्वजनिक जग्गालाई त्यस कार्यमा सदुपयोग गर्न सकिने गरी नीति बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउनु पर्छ । उम्मेदवारका एजेन्डा त्यही अनुरूप आउने हाम्रो विश्वास छ ।”
सुझाव सङ्कलन गर्दै उम्मेदवार
काठमाडौँ क्षेत्र नं. १ मा १६ राजनीतिक दल र स्वतन्त्र गरी २९ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाक्षेत्री, नेकपा (एमाले) का उम्मेदवार मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी रन्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्र, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमिला ज्याख्व (सुवाल), जनता समाजवादी पार्टी, नेपालका प्रकाश नायजूसहितका उम्मेदवार निर्वाचनको मैदानमा हुनुहुन्छ । सामाजिक क्षेत्रमा क्रियाशील डा. सुरेन्द्रप्रसाद ढकालले स्वतन्त्र उम्मेदवार दिएर मतदातालाई आफ्ना मुद्दा बुझाउँदै र सुझाव लिँदै हुनुहुन्छ ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपासहित राजनीतिक दलका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँहरूले पार्टीको घोषणापत्र आएपछि मात्रै प्रस्ट मुद्दा (एजेन्डा) तयार हुने भएकाले अहिले मतदातासँग भेटेर सुझाव लिइरहेको बताउनुभयो ।