• १२ साउन २०८१, शनिबार

मकवानपुरमा जेष्ठ नागरिक अस्पतालः मन्त्री खतिवडा

blog

राममणि दाहाल 

हेटौँडा, वैशाख ५ गते । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गरिने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौँडामा सोमबार बसेको आसन्न स्थानीय तह निर्वाचन केन्द्रित बैठकमा उहाँले काठमाडौँमा सिभिल सर्भिस अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति लिएको जानकारी दिनुभयो ।

नेकपा (एस) का स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री खतिवडाले मकवानपुरमा जग्गा खोजेर अस्पताल सञ्चालनका लागि सैद्धान्तिक सहमति लिइसकेको बताउँदै आफ्नै पहलमा सहरी विकास मन्त्रालयमार्फत थाहा नगरपालिकालाई ५० करोड रुपियाँ उपलब्ध हुने बताउनुभयो । 

मन्त्री खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेशीसम्म जोड्ने मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी सडकका लागि ९९ करोड रुपियाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने भन्दै बजेट कार्यान्वयन भएपछि जिल्लाको पश्चिमी क्षेत्रको सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

यसैबीच एकीकृत समाजवादी मकवानपुरले मकवानपुरमा छ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै भूगोलका इञ्चार्जहरुले पार्टी सङ्गठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र प्रमुख पाउनु पर्नेगरी गठबन्धनमा छलफल गर्न सुझाएका थिए ।

गठबन्धनले एकीकृत समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष दिन सहमति जनाएको छ । ती दुई गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका अध्यक्षहरुले एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका थिए । बैठकमा गठबन्धनसँग लिनु पर्दा १०२ वडामध्ये कम्तीमा वडामा ३९ वटा वडा अध्यक्ष लिनुपर्ने सुझाव दिएका थिए ।

यसैबीच बैठकले हेटौँडा वडा १ का नेता उत्तम शर्मा न्यौपानेलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । न्यौपाने केही दिनअघि एमाले छाडेर समाजवादी पार्टी प्रवेश गर्नुभएको थियो । यस्तै, श्याम ढुङ्गाना र रामबहादुर स्याङ्तानलाई जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव विष्णु दाहालले बताउनुभयो । 

बैठकमा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएका बैठकबारे जानकारी गराउँदै गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरुबारे जानकारी गराउनुभयो । 

बैठकमा नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज ललित बस्नेतले नेतृत्व पंंक्तिलाई अरु सक्रिय भएर पार्टी निर्माण र उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरु धनप्रसाद गौतम, राजाराम स्याङ्तान र सूर्यचन्द्र न्यौपाने लगायतले बोल्नुभएको थियो ।