• २१ वैशाख २०८१, शुक्रबार

भिक्षु र प्रेम (कथा)

blog

तथागत बुद्धको जीवनकालको कुरा हो । एकदिन भिक्षु आनन्द भिक्षाटन गर्दै जाँदा तिर्खा लागेर पानी खान पाउने आसले यताउता हेर्दै थिए । उनले एउटी युवती इनारमा पानी तानिरहेकी देखेछन् । भिक्षु आनन्द त्यही गएर युवतीलाई आफू तिर्खाएको बताउँदै पानी दिन आग्रह गर्छन् । युवतीले फर्केर हेर्दा एक जना सुन्दर, शान्त भिक्षु आफ्नो अगाडि उभिरहेको देखेर लजालु आँखाले मुस्कुराउँदै पानी खुवाउने सङ्केत गर्दै टाउको हल्लाउँछिन् । 

त्यो बेला भिक्षु अन्जुली थापेर पानी खान तयार हुन्छन् भने युवती घैँटो उचालेर पानी खुवाउन ठिक्क पर्छिन् तर एक्कासि युवती झस्किएर भन्न थाल्छिन्, “म पानी खुवाउन सक्दिनँ ।” भिक्षु सोध्छन्, “किन ?” युवती भन्छिन्, “म तल्लो जातको मान्छे, मैले छोएको पानी तपाईहरू खानु हुँदैन ।” भिक्षु भन्छन्, “मैले पानी मागेको हो, जात सोधेको होइन ।” युवतीले फेरि भन्छिन्, “हामीले छोएको पानी चल्दैन ।” भिक्षुले आफू तिर्खाएको साथै भिक्षाटनमा जानुपर्ने बताउँदै छिटो पानी दिन आग्रह गरेपछि युवती अकमकिएर पानी खुवाउन तयार हुन्छिन् । भिक्षु पानी खाएर त्यहाँबाट हिँड्छन् । युवती उनलाई आँखाले भ्याएसम्म एकोरिएर हेरिरहन्छिन् । 

केही दिनपछि बिहानीपख त्यही बाटो गरी भिक्षु भिक्षाटन गर्दै जाँदा त्यस युवतीसँग फेरि भेट हुन्छ । युवती भिक्षुलाई देखेर खुसी हुँदै उनको नजिक गएर त्यस दिनको भोजन उनको घरमा ग्रहण गरी दिनु हुन आग्रह गर्छिन् । भिक्षु युवतीको निमन्त्रणा सहर्ष स्वीकार गरी उनको घर जान्छन् । युवती भिक्षुलाई आसनमा बसालेर भोजनको तयारीमा लाग्छिन् । अर्को कोठामा युवतीकी आमा तरकारी केलाउँदै थिइन् । युवतीले आफ्नी आमालाई भिक्षु घरमा भोजनका लागि आएको खबर दिँदै केही दिन अगाडि उनलाई पानी खुवाएको कुरा बताउँछिन् । साथै आफू उनीसँग प्रेममा रहेको बताउँदै विवाह गरिदिन आग्रह गर्छिन् । आमाले भिक्षुहरूले विवाह नगर्ने बताउँदै यो सम्भव नहुने उल्लेख गर्छिन् तर युवती रिसाएर विवाह नभए आत्महत्या गर्ने धम्की दिएपछि आमा मौन हुँदै विवाहका लागि स्वीकृति दिन्छिन् । त्यही बेला उनीहरू यथाशीघ्र विवाहको तयारीमा लाग्छिन् र भिक्षुलाई भोजनमा लट्ठ्याउने औषधी मिसाएर खुवाउने र भिक्षु लट्ठिएको बेला फूलको माला लगाई विवाह गर्ने योजना बनाउँछिन् । 

भोजन तयार भएपछि भिक्षुलाई भोजन दान दिने कार्य सुरु हुन्छ । भिक्षु भोजन गर्दागर्दै लट्ठिन थाल्छ । त्यही बेला युवतीले फूलको माला लगाई दिन्छ र विवाह सम्पन्न भएको ठानी खुसीले रमाउन थाल्छ । केहीबेरपछि भिक्षु होसमा आउँदा गलामा फूलको माला देखेर आश्चर्य हुँदै त्यसबारे सोधनी हुन्छ । त्यस बेला युवतीले उनीहरू विवाहको बन्धनमा बाँधिसकेको बताउँछिन् । यो सुनेर भिक्षु हतपत उठेर घरबाट बाहिर निस्कन खोज्छ । युवती पनि उनको पछि पछि लाग्छ र उनीहरू बुद्ध कहाँ पुग्छन् । 

०००

बुद्ध यो देखेर आश्चर्य हुँदै घटनाबारे बताउन आज्ञा हुन्छ । भिक्षु आनन्द हतारिँदै भन्छन्, “यसमा मेरो कुनै गल्ती छैन ।” त्यही बेला युवतीले भनिन्, “हाम्रो विवाह भइसकेको छ । म उसलाई प्रेम गर्छु, ऊबिना म बाँच्न सक्दिनँ ।” बुद्ध एक क्षण मौन रहनुभयो अनि युवतीतिर फर्कंदै भन्नुभयो, “तिमी प्रवजित जीवनबारे अनभिज्ञ छौँ तर एउटा कुरा, तिमी उसलाई पे्रम गर्छौं र ऊबिना बाँच्न सक्दैनौँ भने सबभन्दा पहिला तिमीले उसलाई बाँच्न दिनु प¥यो, स्वतन्त्र रूपले हिँड्डुल गर्न दिनु प¥यो । जसले गर्दा ऊ खुसी भएर बाँच्न सक्छ ।” बुद्धले सम्झाउँदै फेरि भन्नुभयो, “बगैँचामा फुलेको फूल मन प¥यो भन्दैमा टिपे एक दुई दिनमै ओइलिन्छ तर फूलको बोटमा पानी हाली गोडमेल गरे, फूल फुलिरहन्छ । जसको आनन्द तिमी लिई रहन सक्छौ । साँच्चै भन्ने हो भने यो नै तिम्रो फूलप्रति सच्चा प्रेम हुने छ ।” युवतीले बुद्धको कुरा बुझिन र उनी पनि बुद्धधर्ममा समाहित भई सामान्य भिक्षुणीको जीवन बिताउन थालिन् ।

०००

अर्को एउटा प्रसङ्ग वैशाली नगरकी सुन्दर स्त्री र नगरवधु आम्रपालीको । आम्रपाली दरबारमा नर्तकी थिईन् । उनको सम्पर्क राजादेखि धनाढ्य व्यक्तिसँग थियो । उनको आलिसान महल वैशालीमा प्रख्यात थियो । एकदिन आम्रपाली बिहानीपख आफ्नो महलबाट दृश्यवलोकन गरी रहँदा एक जना भिक्षु भिक्षाटनका लागि उनको महल अगाडि उभिरहेको देखेछन् । यो देखेर उनी स्वयम् हतरपतर महलको ढोका खोल्न गई भिक्षुलाई स्वागत गर्छिन् । भिक्षुलाई आसनमा बसाल्दै भोजनसहित भव्य दान प्रदान हुन्छ । युवक भिक्षुको स्वच्छ, शान्त निर्मल स्वभावले आम्रपाली मोहित हुन्छिन् । 

भिक्षु त्यहाँबाट फर्कने बेला आम्रपालीले विनम्र निवेदन गर्दै भन्छिन्, “तीन दिनपछि वर्षावास सुरु हुँदै छ । मेरो प्रार्थना छ, वर्षावास मेरो घरमा गरिदिनु होला ।” यो सुनेर भिक्षुले भने, “त्यसका लागि मेरो गुरु सास्ता तथागत बुद्धसँग अनुमति लिनुपर्ने हुन्छ । उहाँले अनुमति दिनुभयो भने निश्चय पनि म बस्न तयार छु ।” भिक्षु विहार फर्केर तथागत बुद्धलाई सम्पूर्ण कुरा बताउँछन् । यो सुनेर त्यहाँ उपस्थित अन्य भिक्षुहरू त्यसको विरोध गर्दै चरित्रहीन महिलाको घरमा त्यति लामो अवधिका लागि एक युवक भिक्षु वर्षावास बस्न ठिक नहुने बताउँछन् । 

त्यो बेला बुद्धले सबै भिक्षुलाई शान्त रहन आज्ञा दिँदै युवक भिक्षुतिर फर्कंदै, उनको आँखामा आँखा जुधाउँदै सोध्नु हुन्छ, “तिमी त्यहाँ बस्न सक्छौ त ?” भिक्षुले बिना हिचकिचाहट भने, “सास्ताको आज्ञा भए बस्न सक्छु ।” बुद्धले आम्रपाली एक सुन्दर स्त्री र नगरवधु भएको बताउँदै उनको घरमा वर्षावास बस्नु प्रवजित जीवनकै एउटा महत्वपूर्ण घडी हुने बताउनुभयो । त्यस बेला युवक भिक्षुले बुद्धलाई आफ्नो दृढ विश्वास दिलाउँदै आफू शुद्ध आचरणले निष्कलङ्क शीलको पालना गर्दै स्वच्छ भावले वर्षावास पूरा गर्ने अठोट जाहेर गरे । यो सुनेर बुद्धले उनलाई वर्षावासका लागि स्वीकृति दिनु भयो ।

तीन दिनपछि युवक भिक्षु आम्रपाली कहाँ वर्षावास बस्न जान्छ । दिन बित्दै जान्छ र तीन महिनाभन्दा लामो वर्षावास पूरा भए पछि भिक्षु विहार फर्कन्छ । उनको पछि पछि लाग्दै आम्रपाली पनि बुद्ध कहाँ पुग्छ । यो देखेर बुद्ध आश्चर्य हुँदै भिक्षुलाई वर्षावासबारे बताउन आज्ञा हुन्छ । भिक्षुले सबै कुशल मङ्गल भएको बताउँछन् । त्यही बेला आम्रपाली एक पाइला अगाडि बढ्दै भन्छिन्, “श्रद्धेय भिक्षुको बसाइमा मैले केही कमी गरिन । त्यति लामो बसाइमा मैले उनलाई आकर्षित गर्न अनेक प्रयास गरे तर म हारे । उनको प्रवजित जीवनप्रतिको एकाग्रता, विश्वास र शील पालनाले मलाई जीवनमा मुक्तिको बाटो यही भएको विश्वास भयो । त्यसैले भक्तिभावले म प्रभुको शरणमा उपस्थित भएकी छु ।” आम्रपाली त्यस दिनदेखि एउटी साधारण भिक्षुणी भई जीवन बिताउन थालिन् ।