• १० मंसिर २०८१, सोमबार

सङ्घर्ष र सफलताको कथा

blog

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका अन्तर्राष्ट्रिय कानुनविद् सूर्य सुवेदीको सङ्घर्ष र सफलताका बारेमा लेखिएको पुस्तक महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म सार्वजनिक भएको छ । लमजुङको विकट गाउँ खुदीदेखि अक्सफोर्डसम्मको सङ्घर्ष यात्रालाई पुस्तकमा सविस्तार उल्लेख गरिएको छ ।

पुस्तक १२ अध्यायमा विभक्त छ । सुवेदीको बाल्यकाल, उच्च शिक्षाका लागि काठमाडौँ बसाइ र बेलायत यात्रा, अक्सफोर्डको अनुभव र उपलब्धि, बेलायतमा विश्व नागरिकको रूपमा जीवनको वर्णन छ गरिएको छ । यस्तै नेपालको परराष्ट्र सम्बन्धका अन्तर्राष्ट्रिय कानुनी मामिलामा योगदान, नेपालमा प्रजातन्त्र र मानव अधिकारप्रति भूमिका, कम्बोडियामा गरिएको योगदान र संयुक्त राष्ट्रसङ्घ मानव अधिकार उच्चायुक्तमा उम्मेदवारीको वर्णनसमेत पुस्तकमा छ । अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार ज्ञानको सीमा विस्तारमा गरिएको योगदान, मानव अधिकारबारे विचार, विभिन्न व्यक्तिको बुझाइ र जीवनयात्रालाई फर्किएर हेर्दाको अवस्था पुस्तकमा समावेश गरिएको छ ।

प्रा. सुवेदीकै जीवनी भएकाले पुस्तक उहाँकै सेरोफेरोमा घुमेको छ । उहाँ आठौँ सन्तान हुनुहुन्छ । विकट पहाडी क्षेत्र खुदीबाट सुरु भएको यात्रा अक्सफोर्डको महाविद्यावारिधिसम्म पुग्छ । चन्द्रशमशेरपछि अक्सफोर्डबाट उक्त उपाधि सुवेदीले पाउनुभएको हो । अभावमा हुर्किनुभएका उहाँले सुरुमा संस्कृत र करिब १३ वर्षको उमेरमा अङ्ग्रेजी पढ्न सुरु गर्नुभएको थियो । समयमै काठमाडौँ पुग्न नसक्दा उहाँले विज्ञान पढ्न नपाएपछि कानुन पढ्नुभएको थियो । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी वकिल बन्नुभयो र छात्रवृत्तिमा बेलायतको हल विश्वविद्यालयमा पढ्न जानुभयो । पढाइ पूरा गरेपछि नेपाल फर्किएर जागिरलाई निरन्तरता दिनुभएका उहाँले अक्सफोर्डमा आवेदन दिनुभयो । त्यहाँ पढ्ने अवसर पाएपछि पुनः उहाँ बेलायत फर्किनुभएको थियो । बेलायतमा पढाउँदा पढाउँदै नेदरल्यान्डतिर पुगेर पुनः बेलायतमै फर्किनुभयो ।

बेलायत नै कर्मथलो र त्यहीँ बसोबास हुँदा नेपाली राहदानी बोक्दा उहाँले सकस, तिरस्कार भोग्नु परेको थियो । सुरिनामबाट बेलायत फर्कंदा होस् वा टोक्यो जाँदा जापानी दूतावासका कर्मचारीबाट हेपिएको अनुभव व्यक्त उहाँले पुस्तकमा व्यक्त गर्नुभएको छ । त्यसै गरी नेपालमा समयमै संविधान बन्न नसक्दा संविधान नभएको देशबाट आएर नियम सिकाउने भनेर कम्बोडियामा त्यहाँका प्रधानमन्त्री र मन्त्रीबाट सहनु परेका दुर्वचनको पीडा पनि वर्णन गरिएको छ । 

अक्सफोर्ड विश्वविद्यालयबाट महाविद्यावारिधि गर्ने पहिलो नेपाली उहाँ हुनुहुन्छ । बेलायत र नेपाल दुवै देशका राष्ट्रप्रमुखबाट विभूषित उहाँले ८६ देशका दुई सय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आफ्नो भनाइ राख्नुभएको छ । ब्रिटेन नेपाल प्राज्ञिक परिषद्, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतमा उहाँको संलग्नता छ । 

प्रा. सुवेदीले २०४५–२०४६ को भारतीय नाकाबन्दीविरुद्ध तत्कालीन राजा वीरेन्द्रको कानुनी सल्लाहकार भएर काम गर्नुभयो भने तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कानुनी सल्लाह दिनुभएको छ । यद्यपि उहाँलाई ती सुझाव ग्रहण गरे जस्तो लाग्दैन । भूपरिवेष्टित राष्ट्रहरूको अन्तर्राष्ट्रिय कानुनमा हुने अधिकार शोधपत्र तयार गर्नुभएको उहाँले ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने किताब लेख्नुभएको छ । तत्कालीन राजा वीरेन्द्रले गरेको नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव र संसारका अन्य सात वटा क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गर्न गरिएका प्रस्तावमा अन्तर्राष्ट्रिय कानुनमा कस्तो भूमिका रहन्छ भन्नेमा उहाँले काम गर्नुभएको छ ।

चिनियाँ अन्तर्राष्ट्रिय व्यापार र लगानी कानुनसम्बन्धी विवाद हेर्ने मध्यस्थता आयोगका सदस्य रहनुभएका उहाँले कम्बोडियाका लागि तयार पार्नुभएका चार वटा प्रतिवेदन प्रजातन्त्र, मानव अधिकार र कानुनी शासनका लागि आधार बनेका छन् । संयुक्त राष्ट्रसङ्घ मानव अधिकार उच्चायुक्त पदमा रहँदा चीन र भारतका राजदूतलगायतलाई लबिङ गर्न लगाउँदाको अनुभव र त्यो कार्य उचित नलागेको विषय पुस्तकमा उल्लेख गरिएको छ । सन् १९९९ मा उहाँले अमेरिकामा हिन्दु धर्ममा मानव अधिकारका अवधारणाबारे व्याख्यान दिनुभएको तथा हिन्दु र बौद्ध धर्ममा शान्तिपूर्ण सहअस्तित्व र सहिष्णुता रहेको बताउनुभएको छ । 

‘ह्युमन राइट्स इन इस्टर्न सिभिलाइजेसन्स’ किताबमा मानव अधिकारका पश्चिमा अवधारणाका कतिपय मूल्य मान्यताका जरा हिन्दु र बौद्ध परम्परामा हुन भन्दै उहाँले सांस्कृतिक सापेक्षतावाद मानव अधिकारको सर्वव्यापीलाई चुनौती दिन अगाडि सारिएको भनेर चर्चा गर्नुभएको छ । ।

ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) र मिन्ट (मेक्सिको, इन्डोनेसिया, नाइजेरिया र टर्की) को उदय हुने र बिस्तारै प्रजातान्त्रिक धारमा जाने उहाँको विश्लेषण छ । सन् २०११ मा लिबियामा कारबाहीलाई अनुचित ठह¥याउँदै सुवेदीले राष्ट्रसङ्घको प्रणालीमा सुधारको पैरवी गर्नुभएको छ । इरान, चीन अनि अधिकांश अरब देशका युवाले आफ्नो अधिकारबारे बुझेकाले आफ्ना देशलाई प्रजातान्त्रिक बनाउन लड्नेमा आशावादी रहेको पुस्तकमा समावेश गरिएको छ ।

उहाँले आफ्ना आठ वटा चाहना पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । पर्यटक भएर चन्द्रमामा पुग्ने, सबै खाले मानिसको दृष्टिकोण समेट्ने ‘द अल्टरनेटिभ’ नामक जर्नल स्थापना, काठमाडौँ फर्किएर ‘सेन्टर फर हिमालयन पिस स्टडिज’ स्थापना गरी शोध गर्ने चाहना उहाँको छ । यस्तै एसियामा मानव अधिकार रक्षाका निम्ति एक क्षेत्रीय संयन्त्र स्थापना, मनुस्मृतिलाई अद्यावधिक, संयुक्त राष्ट्रसङ्घको मानव अधिकार प्रणालीलाई परिवर्तन र परिमार्जन गरी बहुधु्रवीय विश्वका मानिसहरूको जीवन सुधार्न सघाउन सक्ने राष्ट्रसङ्घ बनाउने र सन्धि वा प्रोटोकलमार्फत मानव अधिकारको अन्तर्राष्ट्रिय एक अदालत स्थापनामा योगदान गर्ने चाहनासमेत उहाँले पुस्तकमा व्यक्त गर्नुभएको छ ।

यद्यपि यो पुस्तक पढ्दा प्रा सुवेदीमा विरोधाभास देखिन्छ । एकातिर ब्यारिस्टरको लाइसेन्स लिन जाँदा वा विभिन्न ठाउँमा उहाँले आफूलाई सामान्य व्यक्तिको रूपमा देखाउनुभएको छ भने कतै आफूलाई संसारकै प्रभावशाली व्यक्ति देखाउन खोज्नुभएको जस्तो देखिन्छ । वामपन्थी विचारधारा अँगाल्नुहुने उहाँ बेलायतको प्रजातान्त्रिक पद्धतिको बलियो समर्थन गर्नुहुन्छ । एकातिर एसियाली मोह उहाँमा भरपूर छ भने अर्कोतिर प्रजातन्त्रको एसियाली परिभाषा भनेर पुस्तकमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । पुस्तकमा धेरै कुरा नयाँ छ । सङ्घर्षबाट सफलता पाइन्छ भन्ने प्रेरणा पुस्तकमा छ ।